
युवराज विष्ट
भोजपुर, १३ मङसिर ।
भोजपुरको पौवादुङमा गाउँपालिकाले ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’मार्फत महिलालाई उद्यमशिलता, स्वरोजगार र आर्थिक आत्मनिर्भरतामा जोड दिंदै विभिन्न आयमूलक कार्यक्रम सञ्चालन गरेको छ। गाउँपालिकाले महिलाको क्षमता, सीप र उपलब्ध स्रोतअनुसारका गतिविधिलाई प्राथमिकतामा राख्दै सम्पूर्ण वडामा महिलामैत्री नमूना कार्यक्रम विस्तार गरेको हो।
गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईका अनुसार यस कार्यक्रमअन्तर्गत महिलालाई उद्यमतर्फ उन्मुख गर्न सीपमूलक तालिम, खुर्सानी खेती,गाईपालन, बंगुरपालन, बाख्रापालन,कुखुरापाल, तरकारी तथा फलफूल खेती, गड्यौँला मल उत्पादन, साना उद्योग सञ्चालन जस्ता कार्यक्रम निरन्तर सञ्चालन भइरहेका छन्। उपाध्यक्ष राई नियमित रूपमा कार्यक्रम सञ्चालन स्थल तथा सहभागी महिलाको घर–घरमा पुगेर उद्यमको अवस्था, चुनौती र आगामी योजनाबारे प्रत्यक्ष संवाद गर्दै आएको बताउनुहुन्छ। महिलालाई लक्षित गरेर गत आर्थिक वर्षमा रु. ५० लाख बजेट विनियोजन गरेर तीन वटामा ३९ वटा उन्नत जातको गाई वितरण गरिएको उपाध्यक्ष राईले बताउनुभयो ।
“हामीले महिला उद्यमशीलतालाई मुख्य उद्धेश्य बनाएका छौँ,” उपाध्यक्ष राईले भन्नुभयो, “दिदी–बहिनीको इच्छा, सीप र क्षमताअनुसार कार्यक्रम अगाडि बढाएका छौँ। अहिले धेरै महिलाहरू आयआर्जनमा सक्रिय छन् । र भविष्यमा अझ विविध कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौँ।”
गाउँपालिकाले महिलालाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरेपछि उद्यममा जोडिन सहज भएको स्थानीयबासी देउकुमारी तामाङले बताउनुभयो । गाउँपालिकाले वितरण गरेको गाईपालनबाट अहिले मासिक रु. १० देखी १५ हजारसम्म आम्दानी गर्न थालेको उहाँको भनाइ छ । गाउँपालिकामा महिलालाई लक्षित गरेर आफ्नो सीप र क्षमता अनुसारको कार्यक्रम सञ्चालन भएपछि आत्मनिर्भर बन्न टेवा पुगेको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाले सञ्चालन गरेको महिला लक्षित कार्यक्रमबाट सबै वडाका काम गर्न इच्छुक महिला केहि न केहि उद्यममा जोडिएको उहाँले बताउनुभयो ।
“गाउँपालिकाले महिला विकास बोर्डमार्फत सञ्चालन गरेको कार्यक्रमले हामी महिलालाई प्रत्यक्ष लाभ पुगेको छ” उहाँले भन्नुभयो,“यो कार्यक्रमले प्रोत्साहन गरेपछि हामीले अहिले आफ्नो चाहना अनुसारको काम गरेर केहि आयआर्जन गर्दै आएका छौँ ।”
महिलाको आर्थिक अवस्था सुधारसँगै महिलाहरुको शसक्तीकरणमा भूमिका खेल्न गाउँपालिका उपाध्यक्षको ‘नेतृत्वमा महिला विकास वोर्ड’ नै गठन गरेर महिला लक्षित कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो ।
गाउँपालिकाबाट सञ्चालन हुने हरेक कार्यक्रममा महिलालाई पहिलो प्राथमकितामा राख्ने गरिएको उहाँको भनाइ छ । गाउँपालिकाले प्रोत्साहन गरेसँगै धेरै महिलाहरु उद्यममा जोडिएको अध्यक्ष राईको भनाइ छ ।
गाउँपालिकाले महिला उद्यमलाई जोड दिन खालका कार्यक्रममा प्राथमिकता दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । गाउँपालिकाले सञ्चालन गरिरहेका कार्यक्रमले स्थानीयको आर्थिक पक्षलाई बजबुद बनाउदै लगेको उहाँको भनाइ छ ।

















