
भोजपुर,१६ पुस ।
नेपाली काङ्ग्रेस भोजपुरले प्रजातन्त्रका प्रवर्तक तथा पार्टीका संस्थापक नेता स्वर्गीय बीपी कोइरालाको स्मृति दिवसको अवसरमा आज राष्ट्रिय मेलमिलाप दिवस मनाएको छ।
जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बीपी कोइरालाको तस्बिरमा अविर, फूलमाला अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरिएको थियो। त्यस अवसरमा पार्टीका पदाधिकारी, कार्यसमिति सदस्यको सहभागिता रहेको थियो।
कार्यक्रमपछि सम्पन्न पदाधिकारी बैठकले पार्टीको १५औँ जिल्ला अधिवेशनको तयारीलाई तीव्र बनाउने निर्णय गरेको छ। बैठकले हाल कार्यान्वयनमा रहेका विभिन्न निर्वाचन आचारसंहितालाई कडाइका साथ पालना गर्ने, संगठनलाई अनुशासित र एकताबद्धढङ्गले अघि बढाउनेलगायतका निर्णय पारित गरेको जिल्ला सभापति विनोद बान्तावाले जानकारी दिनुभयो।
सभापति बान्तावाले बीपी कोइरालाले प्रतिपादन गर्नुभएको राष्ट्रिय मेलमिलापको सिद्धान्त आज पनि सान्दर्भिक रहेको उल्लेख गर्दै पार्टीभित्र आपसी सद्भाव, सहकार्य र एकताको खाँचो रहेको बताउनुभयो। उहाँले पार्टीका नेता–कार्यकर्तालाई एक अर्काविरुद्ध गालीगलौज नगर्न, सामाजिक सञ्जालको जिम्मेवार र मर्यादित प्रयोग गर्न तथा आगामी जिल्ला अधिवेशनलाई सफल बनाउन सक्रिय रूपमा लाग्न आग्रह गर्नुभयो।
उहाँले भन्नुभयो, “पार्टीलाई अनुशासित, जनमुखी र बलियो बनाउने जिम्मेवारी सबै नेता–कार्यकर्ताको साझा दायित्व हो। बीपीको विचार र मेलमिलापको भावनालाई आत्मसात् गर्दै हामी १५औँ जिल्ला अधिवेशनतर्फ अघि बढ्नुपर्छ।”
मेलमिलाप दिवसको अवसरमा जिल्लामा पार्टी संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र समसामयिक राजनीतिक विषयमा समेत छलफल गरिएको थियो।
















