टेम्केमैयुङका ७२ महिला स्वास्थ्य स्वयमसेविका सम्मानित


भोजपुर, १९ मङ्सिर ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले समुदायिक स्वास्थ्य प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका ७२ जना महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरेको छ । स्थानीयस्तरमा स्वास्थ्य सेवा अभिवृद्धिमा उनीहरूले खेलेको सक्रिय भूमिकाको कदरस्वरूप गाउँपालिकाले कदरपत्र र न्यानो कपडा प्रदान गरेको हो।
नागरिकस्तरमा महिला स्वयम सेविकाहरुले पु¥याएको कदरसँगै मनोवल उच्च बनाउने लक्ष्यले नौवटै वडाका स्वयमसेविकालाई सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले जानकारी दिनुभयो।
स्वयमसेविकाहरूले परिवार नियोजन, मातृ स्वास्थ्य, खोप अभियान, पोषण सुधार तथा स्वास्थ्य सचेतनामा देखाएको सक्रियता महत्वपूर्ण रहेको उहाँको भनाइ छ ।
“नागरिक तहमा महिला स्वास्थ्य स्वयमसेविकाले निभाउँदै आएको भूमिका अत्यन्त प्रेरणादायक छ”उपाध्यक्ष राईले भन्नुभयो,“समुदायमा पु¥याएको योगदानको कदरस्वरूप सम्मान गरिएको हो। यसले उनीहरूमा अझ थप ऊर्जा, आत्मविश्वास र सेवा–उत्साह वृद्धि हुने अपेक्षा छ।”
यसैगरी कार्यक्रममार्फत उच्च सरकारी वकिल कार्यालय धनकुटाका प्रतिनिधिहरूले लैङ्गिक हिंसा, कानुनी व्यवस्था, पीडित संरक्षण तथा उजुरी प्रक्रियासम्बन्धी विषयमा विस्तृत जानकारी दिएका थिए। सहन्यायधिवक्ता सारदा राउतले लैङ्गिक हिंसाका प्रकार, सजायका व्यवस्था तथा पीडितले पाउन सक्ने कानुनी सहयोगबारे प्रस्तुति दिँदै समुदायस्तरमै कानुनी सचेतना बढ्नु हिंसा न्यूनिकरणको प्रमुख आधार हुने बताउनुभयो।
“समाजमा हुने विभिन्न खाले हिंसा रोकथामका लागि नागरिक स्वयं सचेत हुनु सबैभन्दा महत्वपूर्ण छ”उहाँले भन्नुभयो,“कानुनी पहुँच र जानकारीले महिलालाई सुरक्षित वातावरण निर्माणमा सहयोग पु¥याउँछ।”


‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने नाराका भईरहेको लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको अवसरमा विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ ।गाउँपालिकाले आगमी वर्षहरुमा स्वयमसेविकाको क्षमता अभिवृद्धिका लागि तालिम, प्रोत्साहन र नियमित समन्वय कार्यक्रमलाई अझ व्यवस्थित रूपमा अघि बढाउने जनाएको छ । २२ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसका अवसरमा आयोजित कार्यक्रममार्फत उनीहरुलाई सम्मान गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार