
सिरहा, १४ भाद्र। सिरहा कर्जन्हाबाट तीन दिनअघि अपहरणमा परेका बालकालाई प्रहरीले सकुशल उद्धार गरेको छ । कर्जन्हाका पाँच वर्षीय शिवम यादवलाई अपहरण गरी भारततर्फ लैजाँदै गर्दा सर्लाहीको विष्णु गाउँपालिका–५ बाट सिरहा प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको हो । उद्धार गरिएका पाँच वर्षीय शिवम यादवलाई सिरहा प्रहरीले शुक्रबार एक पत्रकार सम्मेलन गरी परिवारलाई जिम्मा लगाएका छन् ।
केही महिनादेखि सिरहास्थित कर्जन्हा नगरपालिका–३ मा यादवको कोठासँगै डेरी गरी बस्दै आएका भारत विहार सितामढीका २५ वर्षीय सोभित मुखियाले कोठाबाटै बालकलाई अपहरण गरेका थिए । अपहरणकारी मुखियालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको सिरहा प्रहरी प्रमुख उमा चतुर्वेदीले जानकारी दिए । अपहरण किन र केका लागि गरिएको हो सोको खोजबिन भइरहेको चतुर्वेदीले बताए । अपहृत बालकका बाबु र अपहरणकारी मुखिया दुवै मजदुरी पेसामा संलग्न व्यक्ति हुन्




















