भोजपुर,२३ साउन ।
भोजपुर जिल्लामा पहिरोमा ज्यान गुमाएका परिवारले प्रति मृतक एक लाख पाउने भएका छन् । वुधबार बसेको जिल्ला विपत व्यवस्थापन समितिको बैठकले प्रति मृतक एक लाख दिने निर्णय गरेको हो ।
असार २६ गतेबाट परेको अभिरल वर्षाका कारण पहिरोमा परि ज्यान गुमाएका मृतक ५ जनाका परिवारलाई एक/एक लाख रुपैंया उपलबध गराउने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय भोजपुरमा प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै बैठकले १ नम्बर प्रदेश सरकारले मृतकका लागि उपलब्ध गराउने दुई लाख रुपैंया र घाइतेका लागि उपलब्ध गराउने औषधी उपचारको खर्चका लागि प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।पहिरोमा परि भोजपुरमा पाँच जनाको ज्यान गएको थियो । वर्षापछिको पहिरोमा परेर रामप्रसाद राई गाउँपालिका वडा नम्बर –५ मानेभञ्ज्याङका स्थानीय कुमार राइकी ३५ वर्षीय श्रीमती मन कुमारी राई १७ वर्षीय छोरा शिव कुमार राई , १५ वर्षीय छोरा शक्ति कुमार राई र सोहि गाँउपािलका वडा नम्बर ७ बासिखखोराका जगत बहादुर राई र टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ९ लेर्खक ओइराङका १४ वर्षीय बालक जनक विकको ज्यान गएको थियो ।
त्यस्तै बैठकले वर्षाका कारण बाढी तथा पहिरोबाट भएको क्षति एवं विस्थापित परिवारको यथार्थ विवरण जिल्ला विपद् व्यवस्थापन समितिमा उपलब्ध गराउन सबै स्थानिय तहहरुमा अनुरोध गर्ने निर्णय गरेको छ,भने जिल्लाभर एक सय परिवार विस्थापीत भएको प्रारम्भिक विवरण रहेको जानकारी गराएको छ । विस्थापितहरुको विवरण प्राप्त गरी निश्चीत कार्य योजना सहित पुनः स्थापनको व्यवस्था गर्न स्थानिय विपद् व्यवस्थापन समिति र आवश्यक सहयोगका लागि प्रदेश विपद् व्यवस्थापनमा अनुरोध गर्ने निर्णय समेत गरेको छ ।