
भोजपुर, १७ भदौ ।
नेकपा (एमाले) भोजपुरले पार्टीको सांगठनिक सुदृढीकरण तथा जनसम्बन्ध विस्तारका लागि सञ्चालन गर्न लागेको ‘मिसन जागरण अभियान’ सम्बन्धी जिल्लास्तरीय कार्यशाला सम्पन्न भएको छ। एमाले भोजपुरका अध्यक्ष मक्कर खड्काको अध्यक्षता तथा एमाले केन्द्रीय सचिव एवं कोशी प्रदेश इन्चार्ज शेरधन राईको प्रमुख आतिथ्यतामा कार्यशाला सम्पन्न भएको हो।

कार्यक्रममा एमाले कोशी प्रदेश सचिव राजकुमार भण्डारी,जिल्ला कमिटीका पदाधिकारीसहित भोजपुरका नौ वटै स्थानीय तहका पालिका कमिटी अध्यक्ष, पालिका इन्चार्ज र पालिकास्तरीय उत्प्रेरकहरूलगायतको उपस्थिति रहेको थियो। पार्टीका गतिविधिहरूलाई थप सशक्त बनाउँदै मिसन जागरण अभियानलाई पालिका हुँदै वडा र टोलस्तरसम्म पु¥याउने उद्देश्यका साथ कार्यशाला आयोजना गरिएको हो। कार्यशालाले जिल्लाका सबै स्थानीय तहमा अभियान सञ्चालन गर्ने गरी समयतालिका समेत तय गरेको छ।
भदौ १८ देखि ३१ गतेसम्म सञ्चालन हुने यस अभियानका क्रममा पार्टीको सदस्यता विस्तार, सदस्यता नविकरण, स्थानीय मुद्दाहरूको संकलन तथा वर्तमान सरकारका गलत काम–कारबाहीबारे सर्वसाधारणलाई जानकारी गराउने कार्य गरिने एमाले भोजपुरका अध्यक्ष मक्कर खड्काले जानकारी दिनुभयो ।























