भोजपुरमा गुणस्तरिय काम गर्न भन्दा मरासन्न हुने गरी कुटिए ‘सव–इन्जिनियर’


भोजपुर, १६ असार ।
भोजपुरमा विकास निर्माणको कामलाई गुणस्तरीय बनाउन निर्देशन दिएका ‘सव–इन्जिनियर’ माथि कार्यस्थलमै सामूहिक रूपमा आक्रमण भएको छ । भोजपुर–मानेभञ्ज्याञ–बैकुण्ठे –बांसिखोरा बालाञखा–रानिटार सडक अन्तरगत (रामप्रसादराई गाउँपालिका–७ ढडुवा–आरीखोला सडक) निर्माण आयोजनाको स्थलगत अनुगमनका क्रममा गुणस्तर कायम गर्न निर्देशन दिएका पूर्वाधार विकास कार्यालय भोजपुरका सव–इन्जिनियर आनन्दकुमार शाहमाथि स्थानीय कामदारको एक समूहले मरासन्न हुने गरी निर्घात कुटपिट गरेको हो।

पूर्वाधार विकास कार्यालयका अनुसार सव–इन्जिनियर शाह  ढडुवा–आरीखोला सडक नियमित अनुगमनका क्रममा निर्माणाधीन सडकको निरीक्षण गरिरहेका थिए । निरीक्षणका क्रममा सडक निर्माण कार्यसम्पादनलाई प्राविधिक मापदण्डअनुसार सुधार गर्न निर्देशन दिएपछि विवाद उत्पन्न भएको र त्यसलगत्तै उहाँमाथि सामूहिक रूपमा आक्रमण भएको कार्यालयको भनाइ छ।
कुटपिटबाट शाहको टाउकोमा गम्भीर चोट लागेको छ। उहाँको टाउकोमा पाँच वटा टाँका लगाइएको छ भने शरीरका विभिन्न भागमा चोटपटक तथा निलडाम देखिएको छ। उहाँको जिल्ला अस्पताल भोजपुरमा सामन्य उपचार पश्चात थप उपचार लागि विराटनगर पठाइएको कार्यालयले जनाएको छ ।
घटनापछि पूर्वाधार विकास कार्यालय भोजपुरले कर्मचारीको सुरक्षाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। कार्यालय प्रमुख राजनराज रेड्डीले कर्तव्यपालनका क्रममा सरकारी कर्मचारीमाथि भएको यस्तो सामूहिक आक्रमणले राज्यका प्राविधिक जनशक्तिको मनोबल कमजोर बनाएको बताउनुभयो। उहाँले गुणस्तरीय पूर्वाधार निर्माण सुनिश्चित गर्ने जिम्मेवारी निर्वाह गरिरहेका कर्मचारीमाथि हातपात हुनु अत्यन्त निन्दनीय र अमानवीय कार्य भएको बताउनुभयो ।

“हामीले निर्माण कार्य गुणस्तरीय बनाउन मात्रै भनेका हौँ“ प्रमुख रेड्डीले भन्नुभयो,” तर त्यसकै कारण सरकारी कर्मचारीमाथि सामूहिक रूपमा आक्रमण भएको छ। यस्तो घटना कुनै पनि दृष्टिले स्वीकार्य हुन सक्दैन। दोषीलाई कानुनबमोजिम कडा कारबाही हुनुपर्छ, अन्यथा विकास निर्माणका काममा खटिने कर्मचारीको मनोबल गम्भीर रूपमा प्रभावित हुन्छ।”

घटनाले जिल्लामा कार्यरत प्राविधिक कर्मचारीको सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको उहाँको भनाइ छ। यस्तो वातावरण कायम रहे विकास आयोजनाको प्रभावकारी अनुगमन तथा गुणस्तर नियन्त्रणमा समेत प्रत्यक्ष असर पर्ने उहाँले बताउनुभयो।

पूर्वाधार विकास कार्यालयका इन्जिनियर परशुराम साहले  कर्मचारीमाथि भएको आक्रमणले फिल्डमा खटिएर काम गर्ने वातावरण नै नरहेको प्रतिक्रिया दिनुभयो । विकास निर्माणका काममा प्राविधिकको सुझाव र निर्देशनलाई अस्वीकार गर्दै हिंसात्मक व्यवहार गरिनु अत्यन्त दुःखद भएको उहाँको भनाइ छ।

उहाँले भन्नुभयो, “हामी विकास निर्माणलाई गुणस्तरीय बनाउन फिल्डमा पुगेर काम गरिरहेका हुन्छौँ। तर राम्रो काम गर्न आग्रह गर्दा नै कर्मचारीमाथि सामूहिक कुटपिट हुने अवस्था सिर्जना भएको छ। अहिले फिल्डमा गएर ढुक्कसँग काम गर्न सक्ने वातावरण छैन। राज्यले कर्मचारीको सुरक्षा सुनिश्चित गर्दै दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ।”
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख राजु लामाका अनुसार घटनामा संलग्न रहेको आरोपमा हालसम्म ६ जनालाई नियन्त्रणमा लिइएको छ । घटनामा संलग्न स्थानीय कामदार सुजन भनिने प्रितम राई , ज्ञान बहादुर राई, इन्द्र बहादुर राई, दुर्गा प्रसाद राई, प्रदिप राई र निरज बोगटीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रमुख लामाले जानकारी दिनुभयो । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको र घटनाको वास्तविकतापछि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने उहाँले जानकारी दिनुभयो।

यस घटनाले सरकारी कर्मचारीको कार्यस्थल सुरक्षा, विकास निर्माणका आयोजनामा हुने हस्तक्षेप तथा कानुनी शासनको प्रभावकारी कार्यान्वयनबारे गम्भीर बहस सिर्जना गरेको कार्यालयको भनाइ छ । विकास निर्माणको गुणस्तर कायम गर्ने जिम्मेवारी बोकेका प्राविधिकमाथि नै आक्रमण हुने अवस्था दोहोरिन थाले विकास आयोजनाको प्रभावकारिता, पारदर्शिता र गुणस्तरमा प्रत्यक्ष असर पर्ने सरोकारवालाहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार