पौवादुङमा पूर्णखोप तथा सुनिश्चितता पालिका घोषणा


भोजपुर, ३ असार ।
भोजपुरको पौवादुङमा गाउँपालिकालाई पूर्णखोप तथा सुनिश्चितता पालिका घोषणा गरिएको छ। गाउँपालिकाभित्रका लक्षित उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत तोकिएका सम्पूर्ण खोप प्राप्त गरेको सुनिश्चित भएपछि उक्त घोषणा गरिएको हो।
गाउँपालिकाले स्वास्थ्य शाखाका, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिहरूको सक्रिय सहभागितामा घरदैलो अभियान सञ्चालन गरी कुनै पनि बालबालिका खोपबाट वञ्चित नरहेको सुनिश्चित गरेको जनाएको छ। प्रत्येक वडामा खोप अवस्थाको सूक्ष्म अनुगमन गरी छुटेका बालबालिकाको पहिचान तथा पुनःखोप सुनिश्चित गरिएको थियो।
घोषणा कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष ज्योत्सना राईले पूर्णखोप सुनिश्चितता हासिल गर्नु गाउँपालिकाका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभयो। उहाँले आगामी दिनमा पनि खोप कार्यक्रमलाई निरन्तरता दिँदै दिगोपना कायम राखिने बताउनुभयो।
स्वास्थ्य शाखाका अनुसार पूर्णखोप सुनिश्चितताले बालबालिकालाई विभिन्न संक्रामक रोगबाट जोगाउनुका साथै बाल मृत्युदर घटाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। स्थानीयस्तरमा जनचेतना अभिवृद्धि, नियमित खोप सेवा र समुदायको सक्रिय सहभागिताका कारण यो उपलब्धि सम्भव भएको जनाइएको छ।
गाउँपालिकाले अब “पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका” का रूपमा आफ्नो पहिचानलाई थप मजबुत बनाउँदै स्वास्थ्य सेवाको पहुँच र गुणस्तर अभिवृद्धिमा जोड दिने जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार