दिंला–भोजपुर–घोडेटार– चुहार सडक कालोपत्रे हुँदै


भोजपुर, १५ चैत ।
भोजपुरलाई तराइसंग सबैभन्दा नजिकबाट जोडने दिंला भोजपुर घोडेटार चुहार सडक आयोजनाको कालोपत्रे हुने भएको छ । यो खण्डको करिव १२५ किलोमिटर सडक मध्ये पहिलो चरणमा हतुवागढी गाउँपालिकाको हसनपुरको चुहारबाट घोडेटार बजारसम्म साँढे २२ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको हो ।
यसका लागि ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी) आयोजना वातावरणिय परिक्षणको सर्वाजनिक सुनुवाइ कार्यक्रम शुरु गरेको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । गाउँपालिकाले पुरा गर्नु पर्ने अन्य प्रक्रिया पुरा गरिसकेको राईले जानकारी दिए ।

 

अध्यक्ष राईले भने,‘भोजपुरबासीको चासोको रुपमा रहेको भोजपुरलाई उत्तर दक्षिण जोड्ने यो सकडको काम शुरु हुने अन्तिम चरणमा छ । पहिलो चरणमा चुहारबाट घोडेटार बजारसम्मको करिब साढे २२ किलोमिटर सडक कालोपत्रे हुनेछ । त्यसपछि अन्य क्षेत्रको काम पनि शुरु हुन्छ ।’ त्यसपछि घोडेटारबाट सदरमुकामसम्मको काम शुरु हुन्छ ।’’
तत्कालिन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको सिफारिस र पहलमा ग्रामिण सडक सञ्जाल सुधार आयोजनाले सडक निर्माणको काम थालेको हो । पूर्वमुख्यमन्त्री राईको पहलमा कोशी राजमार्गको बैकल्पिक राजमार्गको रुपमा १२५ किलोमिटर लामो दिंला भोजपुर घोडेटार चुहार हुँदै सुनसरीको चतरा सडकको स्तरउन्नति र कालोपत्रेको काम शुरु भएको हो ।

पहिलो चरणमा चुहार घोडेटार सडकको काम हुने पूर्वमुख्यमन्त्री राईले बताए । आफु मुख्यमन्त्री हुँदा नै कामलाई शुरु हुने गरी काम अघि बढाएको भएपनि कोभिडका कारण काममा केहि ढिला भएको राईले बताए ।पूर्वमुख्यमन्त्री राईले भने,‘यो प्रदेशको प्राथमिकतामा परेको सडक हो । यो सडकले भोजपुरबासीको भविष्य बोकेको छ । मैले प्राथमिकता दिएर यसको काम अघि बढाएको थिए । कामलाई मेरो कार्यकालमा नै शुरु गर्ने लक्ष्य थियो । कोडिभका कारण केहि असर पर्यो । अहिले मेरो पहलमा यसको काम शुरु भएको छ । अव कामले गतिलिन्छ ।’
सडक एशियाली विकास बैंक(एडिबी)को लगानीमा ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी) ले निर्माण गर्ने राईले बताए । ‘‘भोजपुरलाई तराईका जिल्लाहरुसँग जोड्ने छोटो मार्ग हो । यसलाई कोशी राजमार्गको वैकल्पिक राजमार्गको रुपमा निर्माण गर्ने लक्ष्यले काम भईरहेको छ । समयमा निर्माण सम्पन्न गराउनको लागि मैले आयोजनाका प्रतिनिधिसँग भेटेर नै कुराकानी गरेको छु,’ राईले भने ।

यो सडकलाई छोटो मार्गको रुपमा निर्माण गर्नको लागि भोजपुर र उदयपुरलाई जोड्ने चुहारको दुधकोशी नदीमा पुल बनिरहेको राईले बताए । भोजपुरको भविष्य र समृद्धिका लागि तराईसंग नजिक जोड्न चुहारको पुल निर्माण तिव्रगतिमा भइरहेको राईले जानकारी दिए । राईले भने,‘यो सडकलाई विस्तार गर्ने लक्ष्यलेनै म मुख्यमन्त्री हुँदा प्रदेश सरकारको तर्फबाट चुहारमा पुल निर्माण थालेको हुँ । अब पुलसँगै सडक निर्माणको काम अघि बढेको छ । पुल निर्माण सम्पन्न भएपश्चात यहाँका जनतालाई राहत पुग्छ ।’

चुहारको पुल निर्माण सम्पन्न भएसंगै भोजपुर सदरमुकामबाट ९० किलोमिटरमा सुनसरीको चतरा पुगिनेछ । भोजपुर सदरमुकामबाट पूर्व हुँदै जाने हो भने ९२ किलोमिटरमा धनकुटाको हिले मात्र पुगिन्छ । यो सडक हुँदै जादा उत्तरी क्षेत्रको दिंलाबाट १२५ किलोमिटरमा चतरा पुगिनेछ । जुनबाट सडक यहाँबाट तराई पुग्न निकै छोटो हुनेछ ।
सुनसरीको चतरा नयाँपुल हुँदै उदयपुरको मैनामैनी चुहार सडकको काम भईरहेको राईले जानकारी दिए। उक्त सडक खण्ड अन्तर्गत २३ किलोमिटर मध्ये १२ किलोमिटर कालोपत्रे र ११ किलोमिटर सडक ग्राभेलको काम भइरहेको राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार