भोजपुर, २१ मङ्सिर ।
भोजपुरको अरुण गाउँपालिका ७ सिक्रेटारले नागरिक ‘साझेदारी स्वास्थ्य विमा कार्यक्रम’ सञ्चालनमा ल्याएको छ । वडाले आर्थिक रुपमा गरिव तथा विपन्न नागरिकको स्वास्थ्य संवेदनशिलतालाई ध्यानमा राख्दै स्वास्थ्य विमा कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
अरुण गाउँपालिकाको मङ्सिर १२ को कार्यपालिका वैठकको निर्णयअनुसार वडाले नागरिकहरुको आवेदन संकलन थालेको छ ।
कार्यपालिकाको निर्णयमा उल्लेख भएको आधारमा विमा शुल्कको ७१ दशमलव ४३ प्रतिशत वडाले व्यहोर्ने र बाँकी २८ दशमलव ५७ प्रतिशत नागरिक स्वयमले तिर्ने गरी आवदेन संकलन थालिएको अरुण ७ का वडाध्यक्ष कुमार थापाले जानकारी दिनुभयो । यस कार्यक्रमले वडामा बसोबास गर्ने अति गरिव, विपन्न, दीर्घरोगी तथा अपाङ्गता भएकालाई मुख्य प्राथममितामा राखेको वडाध्यक्ष थापाको भनाइ छ ।
“हामीले गरिव तथा विपन्न परिवारलाई लक्षित गरेर नागरिक साझेदारी स्वास्थ्य विमा कार्यक्रम सञ्चालनमा ल्याएका छौँ”वडाध्यक्ष थापाले भन्नुभयो,“आर्थिक रुपमा विपन्न परिवारलाई स्वास्थ्य विमामा जोड्ने लक्ष्यले यो कार्यक्रम सञ्चालनमा ल्याएको हौँ । विमा शुल्कको ७१ प्रतिशत रकम वडाले व्यहोर्ने छ ।”
राज्यले जेष्ठ नागरिक र ‘क’ वर्गका अपाङगता भएका नागरिकको निःशुल्क स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गरिरहेको भएपनि गरिव तथा विपन्न परिवारलाई लक्षित गरेर वडाले शुल्क व्यहोर्ने गरी सञ्चालनमा ल्याएको यो कार्यक्रम भने जिल्लामा नै पहिलो रहेको वडाको दावी छ ।
वडाले सञ्चालन गर्न लागेको नागरिक साझेदारी स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत स्वास्थ्य विमाको वार्षिक रु. तीन हजार पाँच सय तिर्दै आएका परिवारले अव भने रु. एक हजार तिर्नु पर्नेछ भने वडा कार्यालयले रु.दुई हजार पाँच सय विमा शुल्क वापतको रकम व्यहोर्ने छ ।