भोजपुरमा खाद्य बैंकको स्थापना


भोजपुर, ६ असोज ।खाद्यन्न उत्पादन, भण्डारण तथा वितरणको उद्धेश्यले स्थापना भएको राष्ट्रिय खाद्य बैंकले रैथानेबालीको संरक्षण गर्ने भएको छ । पछिल्लो समयमा यहाँका पोषणयुक्त रैथानेबाली हराउदै गएकोले यस्ताबालीको संरक्षण गरिने भएको हो । भोजपुरका सबै स्थानीय तह, कृषक, कृषि सहकारी लगायतसँगको सहकार्यमा रैथानेबालीको विकास तथा संरक्षण गरिने पत्रकारसम्मेलनमार्फत बैंकका अध्यक्ष शंखरनाथ उप्रेतीले बताए । कृषिमा बाहिरबाट हुने आयत घटाएर प्राङ्गारिक उत्पादनमा जोड दिदै रैथानेबालीको संरक्षण गरिने अध्यक्ष उप्रेतीको भनाइ छ ।
‘‘हाम्रा मौलिक तथा परम्परागत रैथानेबाली लोप भइरहेका छन्’’अध्यक्ष उप्रेतीले भने,‘‘यी बालीको संरक्षण गर्दै देशलाई खाद्यन्नमा आत्मानिर्भर बनाउने लक्ष्यले बैंकको स्थापना गरेका हौँ । रैथानेबालीको संरक्षण गरेर सबैको भान्सामा पु¥याउने गरी यो बैंकले काम गर्दै आएको छ ।’’ खास गरेर कोदो, फापर, जौ, चिनो कागुनोसँगै धान,मकै,आलुलगायतको पनि रेथानेबालीको खोजी तथा संरक्षण गरिने उनको भनाइ छ । किसानहरुले उत्पादन गरेको बालीको बजारीकरणको जिम्मा बैंकले लिनेसमेत उनको भनाइ छ ।

किसानलाई उत्पादन, श्रम र शेयरमा जोडेर यसलाई आफ्नै बैंकको अपनतो दिलाउने अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो । भोजपुरमा पनि कार्यालय स्थापना गरेर यसको संरक्षणमा जुटेको बैंकले जनाएको छ । यहाँ नौ वटै स्थानीय तहका ८१ वटा वडामा कृषि लक्षित कार्यक्रम गरिने बंैकले जनाएको छ ।‘‘भोजपुरको सबै भुगोलको माटो परीक्षण पश्चात खेती विस्तारमा जुट्छौँ’’ अध्यक्ष उप्रेतीले भने,‘‘ यहाँको भूगोल र माटो सुहाउँदो बालीको उत्पादनमा जोड दिन्छौँ ।’’

कृषिलाई सम्मानित र मर्यादित पेशा बनाएर कृषकको आर्थिक अवस्थामा परिवर्तन गर्दै समृद्धिको अभियानमा जुट्ने जनाइएको छ । कृषिको माध्यमबाट मुलुकमा रोजगार सृजना गर्ने, यस क्षेत्रमा लागेका वैज्ञानिक एवं प्राविधिकको सहयोगमा आधुनिक प्रविधिको प्रयोग गर्दै कृषिको आधुनिकीकरण गरिने बैंकका अध्यक्ष उप्रेतीले जानकारी दिए । उत्पादक र उपभोक्ता सिधैँ बैंकसँग जोडिने भएकाले कृषकहरुले बिचौलियाको मारबाट उन्मुक्ती पाउने उनको भनाइ छ ।

बैंकले कृषि क्षेत्रमा जोडिएका कृषि कम्पनी, कृषि सहकारी, सरकारी एवं गैरसरकारी संघसंस्थालगायतसँग सहकार्य गरेर उत्पादनमा वृद्धि गर्ने जनाएको छ । बाँझो, खाली तथा प्रयोगविहिन जमिनको सदुपयोग गर्दै गुणस्तरयुक्त खाद्यान्न, तरकारी, जडीबुटी, चिया, कफी, अलैँची, माछामासुलगायतमा देशलाई आत्मनिर्भर बनाउने बैंकको भनाइ छ ।

जनस्तरबाट रु. दुई अर्ब लगानीमा स्थापना भएको बैंकले हालसम्म २२ ओटा जिल्लामा कृषिको क्षेत्रमा काम गर्दै आएको अध्यक्ष उप्रेतीले जानकारी दिए । कोशी प्रदेशका भोजपुरसहित पाँच ओटा जिल्लामा कृषि सम्बन्धि काम गर्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार