भैंसीपंखाको बालकन्या प्राविमा शिलालेख अनावरण तथा चन्दा दाताहरुलाई सम्मान कार्यक्रम सम्पन्न


भोजपुर, २७ बैशाख । भोजपुर नगरपालिका १० भैंसीपंखामा रहेको बालकन्या प्राथमिक विद्यालयमा शिलालेख अनावरण तथा चन्दा दाताहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । कोशी प्रदेश सभा सांसद विनोद बान्तावाको प्रमुख आथितिमा चन्दादाताहरुको नामावली राखिएको शिलालेख अनावरण गरिएको हो । विद्यालयको विकासको लागि विभिन्न सहयोगी दाताबाट रु. २७ लाख आर्थिक सहयोग संकलन भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रकाश राईले जानकारी दिनुभयो । सो रकम मध्ये रु. दश लाख खर्च भईसकेको उहाँको भनाइ छ । रकम विद्यालयको सहयोग उप समितिमार्फत भोजपुर नगरपालिका १० जिमिगाउँ पुरानो घरभै देश बिदेशमा रहेकाहरुबाट संकलन गरिएको उहाँको भनाइ छ ।

विद्यालयलाई पूर्व अर्थ मन्त्री शंकरप्रसाद कोइरालाले इश्वर मन्दिर काठमाडौँ मार्फत खेलकुद सामाग्री उपलब्ध गराउनु भएको छ । उहाँले आगामी वर्ष कम्प्युटर उपलब्ध गराउने बचनसमेत दिनु भएको छ । त्यस्तै कार्यक्रमका प्रमुख अथिति विनोद बान्तावाले केहि ब्यक्तिगत सहयोग र अन्य भौतिक सहयोगमा पहल गर्ने बताउनुभयो ।
बिद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाई हुने भएकोले केही दरबन्दी अत्यन्तै आवश्यक रहेको विद्यालयले जनाएको छ ।

कार्यक्रममा दिवाकर राई,  सहयोग समिति सुनसरी मोरङका अध्यक्ष जितबहादुर राई संकर राई,कुमार राई, सम्बिर राई, गोपाल राई,सालिक राम योन्जन राम कुमार राई लगायतको उपस्थिति रहेको थियो । विगतमा ७ जना विद्यार्थी रहेकोमा हाल ५२ जना बालबालिका रहेको जनाइएको छ । अङ्ग्रेजी माध्यमबाट पठनपाठन थालिएसँगै विद्यार्थीको चाप बढेको व्यवस्थापन समिति अध्यक्ष राईको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार