भोजपुर, ३१ साउन । भोजपुरको दक्षिणी क्षेत्रमा रहेको हतुवागढी गाउँपालिकामा जनश्रमदान मार्फत साढे चार किलोमिटर सडक मर्मत गरिएको छ । गाउँपालिकाको आह्वान तथा संयोजनमा सञ्चालन भईरहेको जनश्रमदान अभियानमा जोडिएर स्थानीयले सडक मर्मत गरेका हुन् ।
जनश्रमदान अभियानमार्फत वडा नं १ को घोडेटार बजार गेटदेखी वडा नं ४ एक्लेबरसम्म साढे चार किलोमिटर सडक मर्मत गरिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । यहाँको मुख्य सडकको नाली व्यवस्थापन, हिलो भएको तथा खाल्डा परेको ठाउँमा मिक्स गिटी लाउने, झाडी हटाउने लगायतको काम गरिएको अध्यक्ष राईले बताए ।
‘‘गाउँपालिकाले श्रमदान अभियान सञ्चालन गरेर सडकको मर्मत,सम्भार गरिरहेका छौँ’’ अध्यक्ष राईले भने,‘‘प्रायः सम्पूर्ण सडक वर्षातले विग्रिएको अवस्था छ । धेरै ठाउँमा सडक विग्रिएको कारण स्थानीयलाई श्रमदानमा जोडेर सडक मर्मत गरिरहेका छौँ । गाउँपालिकाले थालेको यो अभियान जारी रहन्छ ।’’ बाटो विग्रिएर आवत जावतमा समस्या भएपछि श्रमदान अभियान सञ्चालन गरेर सडक मर्मत गरिएको अध्यक्ष राईको भनाइ छ । जनश्रमदान अभियानमा स्थानीयले स्वतस्फूर्त रुपमा सहयोग गरिरहेको उनले जानकारी दिए ।
श्रमदान अभियानमा जोडिने गाउँपालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरु, उद्योग बाणिज्य संघ, हतुवागढी यातयात प्रा.लि,प्रगति समृद्धि र हाट खोला टोल विकास संस्था हतुवागढी १, सिम्ले साँचकी फलामढुङ्गा खैराङ र शिला सुत्केरी टोल विकास संस्था हतुवागढी ४ लगायत श्रमदान अभियान गर्ने स्थानीयबासी, समाजसेवी, वुद्धिजीविलाई गाउँपालिकाले धन्यवाद ज्ञापन गरेको छ । गाउँपालिकाले आगामी दिनमा सञ्चालन हुने जनश्रमदान अभियानमा जुट्नसमेत सवैमा अनुरोध गरेको छ ।
गाउँपालिकाले शुरु गरेको श्रमदान अभियानमा मार्फत यहाँ विभिन्न खालका काम भईरहेका छन् । यस अघि गाउँपालिका तथा वडा कार्यालयको अगुवाईमा श्रमदानमार्फत घोडेटार,संखाम, दिमालुङ पदमार्ग क्षेत्रमा बृक्षारोपनसँगै दिमालुङ क्षेत्रको सरसफाई गर्ने लगायत काम गरिएको गाउँपालिकाले जनाएको छ ।