भोजपुर, ७ चैत्त ।भोजपुरलाई दक्षिणी क्षेत्रबाट तराईका जिल्ला जोड्नको लागि निर्माण भईरहेको दूधकोशी नदीको चुहारमा बनिरहेको पुल सम्झौता अवधि भित्र सम्पन्न हुने भएको छ । निर्माण थालिएको लामो समयसम्म पनि पुल निर्माणमा अपेक्षित उपलब्धी नभएपछि सोमबार कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईको अगुवाईमा सर्वपक्ष बैठक बसेर पुललाई समयमा सम्पन्न गराउने विषयमा चार ओटा निर्णय गरिएको हो ।
पूर्व मुख्यमन्त्री राईले पुल ढिलाइको विषयमा यातायात पूर्वाधार निर्देशानालय तथा निर्माण व्यवसायीहरुसँग जानकारी लिएसँगै कामलाई चाडो सम्पन्न गराउन देखा परेका समस्या समाधान गर्न पहल गर्ने बताए । ‘पुल निर्माण ढिलाइको विषयलाई मैले चासोको साथ लिएर अगुवाई गरिरहेको छु’ पूर्वमुख्यमन्त्री राई भने, ‘ढिलाईको कारण पत्ता लागेको छ । सम्बद्ध पक्षसँग बैठक बसेर निर्णय पनि गरेका छौँ । पुल सम्झौता अवधि भित्र नै सम्पन्न हुन्छ ।’’
आफु मुख्यमन्त्री हुँदा भोजपुरको विकासलाई ध्यानमा राखेर नै चुहारमा पुल निर्माणको लागि बजेट राखेको मुख्यमन्त्री राईको भनाइ छ । यसले भोजपुरको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । ‘‘भोजपुरको विकासलाई मध्य नजर गरेर मैले नै यहाँ पुल निर्माणको थालनी गरेको हुँ’’ उनले भने,‘‘ पुलको विषयलाई लिएर यहाँ धेरै खालका कुप्रचार गरिएको अवस्था पनि छ । एक÷एक समस्याको विषयमा गम्भिर छलफल गरेका छौँ । पुल निर्माणले निरन्तरता पाउन छ ।’’ अब रानीटार, सुन बालुवा र सतिघाटमा बन्ने पुलको विषयमा केन्द्रित हुनेसमेत उनले बताए ।
यातायात पूर्वाधार निर्देशनालय इटहरीका निमित्त प्रमुख जीतेन्द्र कुमार कर्णको अध्यक्षतामा भएको बैठकमा भोजपुर प्रदेश सभा सांसद सिर्जना राई, निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि ठाकुर प्रसाद कडेल लगाएतको उपस्थिति रहेको थियो ।