
भोजपुर, ९ फागुन ।
भोजपुरको पौवादुङमा गाउँपालिकाका ३३ ओटा सामुदायिक विद्यालयलाई ब्रोडव्याण्ड इन्टरनेट सामग्री वितरण गरिएको छ । सामुदायिक विद्यालयमा प्राविधि मैत्री शिक्षा दिनको लागि इन्टरनेट सामग्री वितरण गरिएको हो ।
नेपाल दुरसञ्चार प्राधिकरण र पौवादुङमा गाउँपालिका बीच भएको सम्झौता अनुसार यहाँका विद्यालयमा इन्टरनेट सेवा विस्तार गर्न लागिएको हो । प्राधिकरणले प्रत्येक विद्यालयमा २० एमविपिएस नन डेलिकेडेट सेवा विस्तारको गर्ने जनाइएको छ । सम्झौता अनुसार प्राधिकरणले एक विद्यालयमा पहिलो वर्षमा ७३ हजार नौ सय का दरले २४ लाख ३८ हजार सात सय बराबरको इन्टरनेट सेवा प्रदान गर्नेछ ।
त्यस्तै दोश्रो वर्षमा प्रति विद्यालय १८ हजार नौ सयका दरले ६ लाख २३ हजार सात सय बरावरको इन्टर सेवा प्रदान गर्ने पौवादुङमा गाउँपालिका शिक्षा शाखा प्रमुख सुनिता कटवालले जानकारी दिइन् ।
सामुदायिक विद्यालयमा इन्टरनेट सेवा विस्तारले बालबालिकालाई नविनतम प्रविधियुक्त शिक्षा लिन सहज हुने गाउँपालिका अध्यक्ष किरण राईले बताए । प्रविधिको विस्तारले शिक्षाको गुणस्तरमा सुधार ल्याउन भूमिका खेल्ने अध्यक्ष राईको भनाइ छ।
‘‘नेपाल दुरसञ्चार प्राधिकरणसँगको सहकार्यमा यहाँका सम्पूर्ण विद्यालयमा गुणस्तरिय इन्टरनेट सेवा विस्तार हुनेछ’’ अध्यक्ष राईले भने,‘‘यसले यहाँका बालवालिकाले प्रविधियुक्त शिक्षा सहजता प्रदान गर्नेछ । शिक्षालाई प्रविधिमैत्रीसँगै गुणस्तरिय बनाउन गाउँपालिकाले काम गरिरहेको छ ।’’