फोटो फिचर- युवा संघ नेपाल र अनेरास्ववियू भोजपुरद्धारा १० हजार मास्क र ३० लिटर सेनिटाइजर वितरण


भोजपुर, १६ बैशाख ।
राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियू भोजपुरले मास्क, सेनिटाइजर र सन्देशमुलक सामग्री वितरण अभियान थालेको छ । युवा संघ र अनेरास्ववियूले विहीबार अन्य जिल्लाबाट भोजपुर आउने यात्रु बस तथा ढुवानीका साधनहरुलाई लक्षित गरेर मास्क, सेनिटाइजर तथा कोभिड –१९बाट बच्ने सन्देशमुलक सामग्री छापिएको पर्चा वितरण गरेको हो ।
कोभिड–१९ को महामारीलाई ध्यानमा राख्दै युवाहरुले कोरोनाबाट बच्नको लागि ३ दिनसम्म सचेतनामुलक कार्यक्रमसँगै स्वास्थ्य सामग्री वितरण अभियान थालेको युवा संघ नेपाल भोजपुरका अध्यक्ष ज्ञानेन्द्र राईले जानकारी दिए । अध्यक्ष राईले भने,‘कोरोना भाइरसबाट बच्नका लागि हामीले यो अभियानको थालनी गरेका हौँ । युवाहरुले यस्तो काममा अग्रपंतीमा रहेर काम गर्नु पर्छ भन्ने उद्धेश्यले ३ दिनसम्म यस स्थानमा अभियान सञ्चालन गर्नेछौँ । हामीले विशेष गरेर स्थानीयसँगै अन्य जिल्लाबाट यहाँ भित्रने बस तथा धुवानीका साधनहरुलाई ध्यानमा राखेका छौँ ।’

युवा संघ र विद्यार्थी संगठनले १० हजार मास्क र ३० लिटर सेनिटाईजर वितरण गर्ने लक्ष्य लिएको अध्यक्ष राईले जानकारी दिए । कार्यक्रममा प्रहरी चौकी जरायोटारले पनि सहजीकरण गरेको छ । समाजमा सकारात्मक सन्देश फैलाउने उद्धेश्यले युवाहरुले थालेको काम उदाहरणीय रहेको स्थानीयले बताएका छन् । स्थानीय सुरेन्द्र श्रेष्ठले भने,‘ युवाहरुले थालेको यो अभियान धेरै उपयोगी छ । खास गरेर बाहिरबाट आउने यात्रुहरुलाई लक्षित गरेर कार्यक्रम सञ्चालन भएकोले यसले कोराना नियन्त्रणमा केहि हदसम्म सहयोग पुग्छ । हामीले यस्ताहरुलाई प्रोत्साहन गर्न आवश्यक छ ।’
कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा एमाले भोजपुरका पार्टी सचिव किरण राईले महामारीको अवस्थामा युवाहरुले थालेको काम सराहणिय रहेको बताउँदै पार्टीको तर्फबाट पनि सहयोग गर्ने बताए । सचिव राईले भने,‘ युवाहरुले थालेको यो काम प्रशंशा योग्य छ । हाम्रो भातृ संगठनहरुले जनताको सेवाका लागि देखाएको सामाजिक कामलाई पार्टीको तर्फबाट पनि सहयोग हुनेछ । यस्ता काममा युवाहरुलाई सवैले साथ सहयोग गर्न आवश्यक छ । यसले नेकपा एमाले जनताको साथमा छ भन्ने सन्देश पनि प्रवाह भएको छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार