भोजपुर रंगशालाको ८५ प्रतिशत काम सकियो, मुख्यमन्त्री राईद्धारा अनुगमन


भोजपुर, २१ चैत । प्रदेश– १ सरकारको प्राथामिकतामा रहेको भोजपुर रंगशाला निर्माणको काम ८५ प्रतिशत सम्पन्न भएको छ । सदरमुकाम नजिकै रहेको कोदारमा शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाको रु.१४ करोड ५ लाख लागतमा गत मंसिर महिनाबाट रंगशालाको निर्माण शुरु भएको हो । २०८० सालसम्म निर्माण अवधि भएपनि सरकारले समयमा बजेट दिएमा सम्झौता अघि नै काम सम्पन्न गर्ने निर्माण कम्पनी रायामाझी, मार्सेली जेभीले जिकिर गरेको छ ।

मार्सेली निर्माण कम्पनीका प्रमुख श्याम श्रेष्ठले भने ‘‘ हालसम्म रंगशालाको ८५ प्रतिशत काम सम्पन्न भएको छ । सरकारले समयमा बजेट पठाउन सक्यो भने चालु आर्थिक वर्षको असार महिना सम्म निर्माण पुरा गछौँ ।’’ हालसम्म कार्यालय भवन, फाउन्डेसन लगाउने लगाएत स्टक्चरको काम अन्तिम चरणमा पुगेको छ भने प्याराफिड, बनाउने, रिटेनिङवाल लगाउने लगाएतको काम भइरहेको निर्माण कम्पनीले जनाएको छ ।

त्यस्तै खेलमैदानमा दुवो लगाउने काम पनि भईरहेको छ । करिब २५ रोपनी क्षेत्रमा निर्माण भईरहेको सात हजार वर्गमिटरको रंगशालामा ५ हजार मानिस अट्न सक्ने गरी ७ ओटा प्याराफिड निर्माण हुने शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाले जनाएको छ । निर्माण भरहेको रंगशालाको शुक्रबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले समेत स्थलगत अनुगमन गरेका छन् । अनुगमनका क्रममा राईले कामलाई गुणस्तरीय ढंगले सम्पन्न गराउन निर्देशन समेत दिएका छन् । साथै राईले यो रंगशालासँगै जिल्लामा निर्माण भईरहेको सडक, पुल तथा अन्य निर्माण संरचनाको लागि बजेटको अभाब नहुने बताए । मुख्यमन्त्री राईले भने,‘‘आज स्थलगत रुपमा रंगशालाको अनुगमन गरे । यो भोजपुरसँगै हाम्रो प्रदेशको पहिलो रंगशाला हो । निर्माण भईरहेका कुनै पनि योजनाको काम बजेटको कारणले समस्या पर्दैनन्,। कामलाई गुणस्तरिय बनाउनका लागि इन्जिनियरहरुले नियमित रुपमा अनुगमन तथा चेक जाँचसमेत गर्दै आएका छन् ।

निर्माणमा प्रयोग भएका सामग्री मापदण्ड अनुसारको रहेको शहरी विकास तथा भवन निर्माण कार्यालयका इन्जिनियर रजनिस कुमार झाले बताए । रंगशाला निर्माणका क्रममा विस्तृत परियोजना प्रतिवेदनमा छुट भएका केहि संरचनाको विषयमा समेत मुख्यमन्त्री राईलाई जिल्ला फुटबल संघ भोजपुरका अध्यक्ष प्रविन सुवालले जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार