भोजपुर, २५ फागुन ।
आफ्नै ठाउँमा विशेषज्ञ चिकित्सक सहितको निःशुल्क स्वस्थ्य शिविर सञ्चालन गरेपछि भोजपुरको दुर्गम क्षेत्रका स्थानीयलाई लाभ पुगेको छ । पौवादुङमा गाउँपालिकाले आङ खस्ने समस्या भएका महिला र विविध कारणले आपाङगता भएका स्थानीयलाई लक्षित गरेर ६ दिने शिविरको सञ्चालमा ल्याएको हो । गाउँपालिकाले विगतका वर्षहरुबाट नै स्थानीयलाई लक्षित गरेर यस्ता शिविरको सञ्चालन गर्दै आएको छ । यसवर्ष पनि अन्तराष्ट्रिय महिला दिवस पारेर गाउँपालिकाले शिविरको आयोजना गरेको हो । विविध कारणले स्वास्थ्य परिक्षण गराउन बाहिर जान नपाएका स्थानीय आफ्नै ठाउँमा स्वास्थ्य सेवा पाउदा हर्षित बनेका छन् ।
शिविरबाट छनौटमा परेका कठिन समस्या भएकाहरुलाई गाउँपालिकाले निःशुल्क उपचारको व्यवस्था गरेको छ । अपाङगता भएकाहरुलाई डाक्टरको सिफारिसमा परिचय, सहयोगी उपकरण दिने समेत गाउँपालिकाले जनाएको छ । शिविर मार्फत ३०५ जना अपाङगता भएका व्यक्तीहरुको स्वास्थ्य परिक्षण, परिचय पत्र वितरण तथा सहयोगी उपकरण वितरण गरिने गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिइन् ।
उपाध्यक्ष राईले भनिन्,‘गाउँपालिकाबाट स्वास्थ्य शिविरको आयोजना गरिएको छ, यसले अपाङगता भएका तथा महिलाहरुको लागि लाभ पुग्ने छ । विगतका वर्षहरुमा पनि हामीले यस्ता जनचासोका कार्यक्रम गर्दै आएका छौँ ।’
स्थानीयलाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि गाउँपालिकामा ५ शैयाको अस्पताल समेत सञ्चालन गरिएको छ । विशेषज्ञ डाक्टर सहित सेवा दिदै आएको सो अस्पतालले जिल्ला अस्पताल बराबरको सेवा निशुल्क दिदै आएको छ । त्यस्तै सवै वडामा पक्की स्वास्थ्य भवनको निर्माणको काम समेत भइरहेको प्रमुख प्रशासकिय अधिकृत रमेश राईले जानकारी दिए ।
विकासका सम्पूर्ण सूचकहरुलाई पुरा गराउने लक्ष्यका साथ गतिविधि सञ्चालन भईरहेको गाउँपालिको भनाइ छ । गाउँपालिकालाई समृद्ध बनाउन योजनाबद्ध रुपमा काम भइरहेकोले स्वास्थ्य शिक्षा कृषि, पर्यटन, यातयात, विद्युत विस्तारसँगै खानेपानी समस्या चाँडै समाधन हुने गाउँपालिका अध्यक्षको भनाइ छ ।
गाउँपालिकाले स्थानीय नागरिकको पक्षमा काम गरिएको बताउँदै उनले स्थानीय सरकार सञ्चालनमा आएपछि जनताले धेरै राहतमा मशसुस गर्न पाएको धाराणा राख्नुभयो । अध्यक्ष राईले भने,‘ हामी जनताका सेवामा लागि परेका छौँ, यहाँका नागरिकलाई स्वस्थ्य, शिक्षा लगाएतमा सहज पहुँचका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेका छन्, हामीले विभिन्न समयमा स्वास्थ्य शिविर सञ्चालन गरेर सेवा प्रदान गर्दै आएका छाँ,ै त्यसको निरन्तरता स्वरुप यस पटक पनि शिविरको आयोजना गरिएको छ ।’
गाउँपालिकालाई समृद्ध बनाउन योजनाबद्ध रुपमा काम भइरहेकोले कृषि,पर्यटन, यातयात, विद्युत विस्तारस्रगै खानेपानी समस्या चाँडै समाधन हुने अध्यक्ष राईले बताए ।‘गाउँपालिकाले प्राथमिताकामा राखेका धेरै योजनाहरु छन्। योजना अनुसारका सवै कार्यक्रम सञ्चालन गर्न हामीसँग आएको बजेटले सम्भव छैन, त्यसैले महिनौ दिनसम्म काठमाण्डौमा धाएर भएपनि हामीले केहि बजेटको व्यवस्था गरिरहेका छौँ, विद्युत विस्तारको काम अघि बढि सकेकोे छ, पिउने पानी यो आर्थिक वर्षमा घर घरमा पु¥याउने लक्ष्यका साथ काम भइरहेको छ, भने हामीले डिपीआर गरेको च्याङग्रे पोखरी, अरुण डाँडा लगाएतका पर्यटकिय क्षेत्रको विकासका लागि पनि बजेट व्यवस्था गर्न सफल भएको छौं, यो हाम्रो लागि खुसीको कुरा हो।’
गाउँपालिकाले गाउँपालिका भित्रका गर्भवती,तथा सुत्केरी महिलाको लागि निःशुल्क एम्वुलेन्ससँगै पोष्टिक आहार वितरण गर्दै आएको छ । त्यस्तै महिलामा हुने आङ खस्ने समस्याको अन्त्यका गर्ने लक्ष्यले उनीहरुको समस्यालाई चार भाग विभाजन गरेर निःशुल्क उपचार समेत गर्दै आएको गाउँपालिकाले जनाएको छ ।