
युवराज विष्ट
भोजपुर, २१ असार ।
पौवादुङमा गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले ‘वृहत् शैक्षिक भेला २०८३’ सम्पन्न भएको छ।
गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा गाउँपालिकाभित्र रहेका ३२ वटा विद्यालयका शिक्षकहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा शिक्षक, जनप्रतिनिधि तथा सरोकारवालाबीच शैक्षिक सुधार, विद्यार्थी भर्ना अभियान, सिकाइ उपलब्धि अभिवृद्धि तथा विद्यालय व्यवस्थापनका विविध विषयमा विस्तृत छलफल गरिएको थियो।
पौवादुङमा गाउँपालिकाभित्र ५ देखि १३ वर्ष उमेर समूहका सबै बालबालिका विद्यालय बाहिर नरहेको सुनिश्चितता घोषणा गरिएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले यस उपलब्धिले अनिवार्य तथा निःशुल्क शिक्षाको कार्यान्वयनमा महत्वपूर्ण सफलता हासिल भएको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष किरण राईले शिक्षा नै समृद्ध समाज निर्माणको आधार भएको उल्लेख गर्दै कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नहुनेमा जोड दिनुभयो। उहाँले गाउँपालिकाले शिक्षाको गुणस्तर सुधार गर्न आवश्यक नीति, योजना तथा स्रोतसाधन व्यवस्थापनमा प्राथमिकता दिँदै आएको बताउनुभयो। साथै, शिक्षालाई व्यवहारिक, प्रविधिमैत्री तथा जीवनोपयोगी बनाउनेतर्फ स्थानीय तह प्रतिबद्ध रहेको धारणा राख्नुभयो।

त्यस्तै, गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बालबालिकाको शिक्षामा पहुँच वृद्धि गर्न अभिभावक, शिक्षक तथा समुदायबीच सहकार्य अपरिहार्य रहेको बताउनुभयो। उहाँले आर्थिक, सामाजिक तथा भौगोलिक कारणले शिक्षा पहुँच बाहिर रहेका बालबालिकालाई लक्षित गरी विशेष कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो। साथै, शिक्षालाई प्राथमिकतामा राख्दै गुणस्तरीय शिक्षा प्रवाहका लागि आवश्यक समन्वय, अनुगमन तथा मूल्याङ्कन प्रणालीलाई सुदृढ बनाउँदै लगिएको उल्लेख गर्नुभयो।
कार्यक्रममा सहभागी शिक्षकहरूले सिकाइ उपलब्धि सुधार, विद्यार्थी नियमितता, विद्यालय वातावरण सुधार तथा नवप्रवर्तनात्मक शिक्षण विधिको प्रयोगबारे आफ्ना अनुभव र सुझावहरू प्रस्तुत गरेका थिए।
त्यसैगरी, यूडब्लुएस (UWS) का प्रतिनिधिहरूले पनि गाउँपालिकामा भइरहेको शैक्षिक सुधारका प्रयासका विषयमा धारणा राखेका छन् । उनीहरूले विशेषगरी समावेशी शिक्षा, सिकाइको गुणस्तर अभिवृद्धि तथा समुदायमा आधारित शैक्षिक कार्यक्रमहरू प्रभावकारी बन्दै गएको बताएका छन्।























