तेह्रथुम, ५ भाद्र । जिल्लामा पहिलो पटक डेँगु रोगका चार जना बिरामी भेटिएका छन् । जिल्ला अस्पताल तेह्रथुममा उपचारका लागि आएका बिरामीहरुमध्ये अहिलेसम्म चार जनामा डेँगुको संक्रमण भएको भेटिएको हो ।
तराईमा रोग सार्ने लामखुट्टे बाट सर्ने यो रोग विस्तारै पहाडमा पनि फैलिँदै गएकोले जिल्लामा डेंगु देखिएको हुन सक्ने जिल्ला अस्पतालका डा. आनन्द कुमार देवले बताए । उपचारका लागि आएका विरामीहरु केही दिन अगाडी धरान, ईटहरी पुगेर आएका थिए ।
अस्पतालका चिकित्शकका अनुसार जिल्ला अस्पतालमा उपचारका लागि आएका चार जना बिरामीको उपचारका क्रममा रगत परीक्षण गर्दा उनीहरुमा यो रोग देखा परेको हो । अहिले विरामी चारैजनाको जिल्ला अस्पतालमै उपचार भैरहेको छ ।
भदौ दुईदेखि चार गतेसम्म उपचारका लागि अस्पताल पुगेका दुई महिला र दुई पुरुषको रगत परीक्षणका क्रममा डेँगु देखापरेको थियोे । डेंगु सक्रमितमा लालीगुराँस नगरपालिका–८की ४५ बर्षीय राधा खनाल, उनकी १९ बर्षीय छोरी समिक्षा खनाल, म्याङलुङ नगरपालिका–१ का ६५ बर्षीय नर बहादुर खत्री र संखुवासभा चैनपुरका २९ बर्षीय विमल राई रहेका छन् ।
डेँगु एडिज नामक लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । यस रोगबाट बच्नका लागि घर टोल सफा राख्ने र फोहर पानीहरु जम्न नदिने जस्ता सावधानीका उपायहरु अवलम्बन गर्नुपर्ने, पुरा शरिर डाक्ने कपडा लगाउनु पर्ने डा। देवको भनाई छ ।