
साउन ३१, पर्वत । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले कुनैपनि कर्मचारीको अनुहार हेरेर सरुवा बढुवा नगर्ने बताएका छन् । मुख हेरेर प्रणाली स्थापित हुन नसक्ने भन्दै उनले निर्मम ढंगले निर्णय लिइने बताए । प्रेस संगठनले शुक्रावार पर्वतको कुश्मामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले स्वेच्छाचारी ढंगले नभई योग्यता, क्षमता, ज्येष्ठता र प्रणालीको परिधिभित्र रहेर निजामती सेवाका कर्मचारीको बढुवा र जिम्मेवारी तोकिने बताए । मन्त्री पण्डितले तिहारभित्र लोकसेवा आयोगले नतिजा प्रकाशन गरिसक्ने बताउँदै त्यसपछि कुनै पनि तहमा कर्मचारीको अभाव नहुने जिकिर गरे । उनका अनुसार अहिले झण्डै ३२ हजार कर्मचारीको अभाव रहेको छ ।
उनले लोकसेवा आयोगले इतिहासमै पहिलोपटक ठूलो संख्यामा कर्मचारी भर्ना गर्न लागेको बताए । उनले यो वर्षदेखि सेवा प्रवाहमा कुनै समस्या नहुनेसमेत जानकारी गराए । मन्त्री पण्डितले संघीय निजामती ऐन अन्तिमचरणमा रहेकाले यसै साता संसद्बाट पारित हुने बताए । उनले काम गर्नेलाई प्रोत्साहन र नगर्नेलाई कारवाही गर्ने गरी ऐन ल्याउन लागिएको जानकारी दिए । उनले कार्यालय समयमा कर्मचारी ट्रेड यूनियन नहुने उल्लेख गर्दै सामूहिक राजीनामा दिनेलाई तत्काल बिदाइ गरिने बताए । रासस