
विराटनगर । प्रदेश–१ मा गत दुई वर्षमा भ्रष्टाचारको आरोपमा ४४ जना पक्राउ परेका छन् । सुनसरीको इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालयले गत आर्थिक वर्ष २०७५र७६ मा १८ ओटा स्टिङ अप्रेसनबाट घूस रकमसहित २४ जना पक्राउ गरेको जानकारी दिएको छ । कार्यालयका प्रवक्ता ज्ञानेन्द्र ढकालका अनुसार घूससहित पक्राउ पर्नेमा सरकारी कर्मचारी र चिकित्सकहरू छन् । अख्तियारको अभिलेखअनुसार घुस रकमसहित रंगेहात पक्राउ पर्नेको संख्यामा वृद्धि भएको छ । कार्यालयमा विभिन्न माध्यमबाट गत आवमा १ हजार ७८६ ओटा प्राप्त उजुरीहरूमध्ये प्रारम्भिक छानबिनबाट ९२१ ओटा फर्छ्योट भएका छन् ।