एक वडा एक पोखरी स् १८ ओटा बृहत् जलाशय निर्माण


साउन २३, घोराही । घोराही उपमहानगरपालिकाले १८ ओटा बृहत् जलाशय निर्माण गरेको छ ।पानीको स्रोत संरक्षणका लागि बृहत जलाशय निर्माण गरिएको उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले बताए । विशेष गरेर उत्तरी भेगमा रहेको क्षेत्रमा ठूला ठूला ड्याम निर्माण गरेर जलाशय निर्माण गरिएको छ । उपमहानगरपालिकाले नीतिगत रुपमै एक वडा एक पोखरीको अवधारणालाई अगाडि बढाएको छ । वडाहरुले आवश्यकता अनुसार एक भन्दा बढी जलाशय निर्माण गर्न सक्ने छन् । तीव्र शहरीकरण वृद्धिसँगै घोराहीमा पानीको अभाव देखिन थालेपछि उपमहानगरपालिकाले ठूला–ठूला ड्याम निर्माण गरेर आकाशेपानी संरक्षण गर्न थालिएको उनले बताए । ती जलाशयमा माछापालन र सिचाइँको सुविधा रहेको छ । जसका कारण यस क्षेत्रमा अहिले बेमौसमी तरकारी उत्पादनसमेत बढेको छ । वर्षाको समयमा बग्ने खहरे खोला तथा खोंच परेका ठाँउमा ड्याम वनाएर पोखरीहरु निर्माण गरिएका छन् । विभिन्न वडामा निर्माण गरिएका तालहरु स्थानीयका लागि अहिले बहुउपयोगी बन्दै गएका छन् । पानी नै जीवन भएकाले जलस्रोतकोे संरक्षणमा अझै लगानी बढाउन आवश्यक रहेको मेयर चौधरीले बताए ।

जलाशय संरक्षणसँगै घोराहीको तल्लो भेगमा यसको प्रत्यक्ष प्रभाव देखिएको छ । विगतका वर्षहरुमा गर्मीयाममा सुक्ने कुवाहरु यो वर्ष सुकेका छैनन् । ‘गत वर्षसम्म वैशाख र जेठको महीनामा यहाँका कुवाहरु सुक्ने गर्दथे,’ स्थानीय रुपलाल चौधरीले भने, ‘अहिले सुकेका छैनन्, माथिल्लो क्षेत्रमा निर्माण गरिएका ठूला जलाशयले हामीलाई फाइदा गरेको छ ।’खानेपानीको अभाबलाई हटाउन पानीको मुहान संरक्षण र दिगो व्यवस्थापनमा ध्यान दिनुपर्ने खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ दाङले बताएको छ । खानेपानी र सरसफाई एक आपसमा जोडिएकोले पानीको महत्वलाई बेलैमा बुझ्न आवश्यक रहेको महासंघ दाङका अध्यक्ष ध्रुब ठकुरीले बताए ।

प्राकृतिक स्रोतसाधनको अधिकतम दोहन, पूर्वाधार निर्माणका नाममा बढ्दो विनास, जलवायु परिबर्तन, मानविय व्यवहारहरु संरक्षण मैत्री नहुनु, चुनढुंगाको चरम उत्खनन जस्ता कारणले पानीको स्रोत घट्दै गएको प्रति उनले चिन्ता व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार