
बुटवल । ‘हामी आठ जनाको टोली रडले ढोका फोडेर मेघेदाईको घरमा चोर्न पसको हौँ, दराज–सराज फोरफार पछि म पिउन थाले । त्यहीँ निदाएछु । विहान निद्राले छाडेर हेर्दा साथीहरु हिँडेछन्,’ बुधवार गुल्मीको धुर्कोटवस्तु प्रहरी चौकीद्वारा गत राती भएको चोरी काण्डमा पक्राउ परेका एक युवाले प्रहरीलाइ यस्तो बयान दिँदै थिए । ती युवा थिए, आशिष बिसी । चोरी गर्न पसेको घर ‘मेघेदाई’ अर्थात् धुर्कोट गाउँपालिका वडा नम्वर–६ बेलटारीका युवा व्यवसायी मेघनाथ अर्यालको हो । बुटवलमा व्यवसाय गरे पनि गाउँमा साढे दुई तले पक्की घर बनाएर राखेका थिए । उनी कहिले बुटवल त कहिले गुल्मीको घर आवतजावत गर्थे ।
प्रहरी चौकीका प्रमुख असई लोकमान ताम्राकार भन्छन्, ‘चोरीको मुख्य योजनाकार आशिष नै रहेको पाइयो । तर, अरु साथीहरु चोरी गरेर भागेछन् उ चाँहि मस्त खाइ पिइ गरेर त्यही घरकै कोठामा सुतेछ ।’ यता, आशिष भन्छन् ‘तल छल्दीको पुल नजिकै एउटा होटलमा लोकल रक्सी एक बोत्तल, एक प्लेट माछा र जुस पिएका थियौँ । पछि तम्घासबाट केटाहरु आएपछि फलामको रड लिएर घरमा चोरी गर्न पसेका हौं । म त्यही कोठा मै निदाएछु, विहान उठेर साथीहरु कता गए भन्दै खोज्दै जाने क्रममा छतमा पुगेछु । बाहिरबाट मान्छेले देखेपछि ढोकामा चुक्कल लगाएर भित्र लुकेर बसेको हुँ ।’
प्रहरीका अनुसार लोकल रक्सी खाइरहेको मान्छेले चोर्न पसेको घरको बैठक कोठामा ब्राण्डेड रक्सीका बोत्तल पाएपछि मख्ख परेका थिए । रक्सीको मातले आशिष त्यहीँ मस्त निदाउन पुग्छन् । ‘विहान उसलाई छिमेकीले छतमा देखेपछि पचास साठी जनाको समुह हात –हातमा लाठी बोकेर घर घेरेका थिए । ऊ बाहिर निस्केको भए रामधुलाई गर्ने थिए,’ प्रहरी बताउँछ । प्रहरी नपुगेसम्म ढोका नखोली आशिष भित्रै बसेका थिए । असई ताम्राकार सुनाउँछन्, ‘मैले ढोकाको जाली तोडेरभित्र पस्दा ऊ बैठक रुमको टि–टेबुल मुनी लुकेर बसेको थियो । आफूलाई निकै पहुँचवाला भएको र ठूलै रकम दिन्छु बाटैमा छाडिदिनुस् समेत भन्दै थियो ।
करिव २० वर्षको उमेरका आशिषले आफ्नो घर गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्वर ३ भाडगाउँ बताएका छन् । उनी चौरासीको पुल निर्माणको काम गर्दै आएका थिए । उनले तम्घासबाट बोलाएको भनिएका ती सात जनाको घर ठेगना खुल्न सकेको छैन । आशिष बिसी भनिएका बिकलाई जिल्ला प्रहरी कार्यालय पठाउन लागिएको असई ताम्राकारले बताए । चार वटा मोटर साईकलमा आठ जना चोर्न पुगेको र ती अन्य सात जना गाँजाको कारोवार समेत गर्ने गरेको आशिषको भनाई थियो । धनमाल चोरीसाहित टन्न महँङ्गो रक्सी पिएपछि अरु सात जना विहान करिव चार बजेतिर भागेका थिए ।
धुर्कोट गाउँपालिका वडा नम्वर ६ का वडा सदस्य शालिकराम आर्यालले आफ्ना भाई मेघनाथको घरमा चोरी भएको बताउँदै अहिले आफु सोही घरमा रहेर चोरीको विवरण तयार गरिरहेको बताए । उनले करिव ८ देखि १० लाख रुपैयाँ बराबरको चोरी भएको सुनाए । घर चोरी भएको थाह पाउन साथ मेघनाथ अर्याल पनि बुटवलबाट गुल्मी आउँदै छन् ।