
भोजपुर, २० साउन ।
ठेकेदारले रुद्राक्षको दाना राम्रो वनाउन भन्दै लगाएको प्लाष्टिकको क्लिप प्रहरीले हटाएको छ । ठेकेदारले किसानबाट वगान खरिद गरि आफुखुसी षडानन्द नगरपालिकाको विभिन्न ठाउँमा लगाएको क्लिप हटाएको हो ।
क्लिप राखेर रुद्राक्षको दाना अप्राकृतिक वनाएको भन्दै गृह मन्त्रालयबाट निर्देशन आएपछि क्लिप हटाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख नरवहादुर सलामी मगरले जानकारी दिए । षडानन्द नगरपालिकाको केउरेनीपानी र साल्मा भन्ने ठाउँमा रुदाक्षको बोटमा लगाइएको क्लिप हटाइएको प्रहरीको भनाई छ । प्रहरीले केउरनेपानीका पीताम्बर लम्सालको बगानमा लगाइएको १०६ वटा र साल्माका ज्ञानेन्द्र बस्नेतको बगानमा लगाइएको २२५ वटा क्लिप हटाएको हो । कृषकहरूबाट नेपाली व्यवसायीले बोटमै ठेक्का लिएर आफू खुसी क्लिप लगाएर आकार परिवर्तन गरेकाले गृह मन्त्रालयको निर्देशन अनुसार क्लीप हटाइएको प्रहरीले जनाएको छ ।चिनियाँ व्यापारीले प्लास्टिक क्लिपको सहायतामा रुद्राक्षको दानालाई गोलो, अन्डा र थेप्चो आकारमा आवश्यकता अनुुसार बनाउने गरेपनि अप्राकृतिक रुद्राक्षले अन्तराष्ट्रिय बजारमा पार्ने असरका बारेमा भने कृषक अनविज्ञ रहेका छन् ।
रुद्राक्षको अप्राकृतिक आकार र रूपले विश्व बजारमा नेपाली गुणस्तर र छवि बिग्रने भएकाले क्लिप हटाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।