
उदयपुर, १५ साउन । गाईघाट–दिक्तेल सगरमाथा लोकमार्ग असार अन्तिम साताको अविरल वर्षापछि गएको पहिरोले अवरुद्ध सडक अझै खुल्न सकेको छैनन् । मर्मतपछि सुचारु गर्ने प्रयास भएता पनि सम्भब हुन सकेको छैन ।
असार २६ देखि लगातार परेको अविरल वर्षाले चार दर्जन बढी ठाउँमा गएको पहिरोले यातायात आवागमन रोकिएको सडक मर्मत सम्भार भई रहेको छ ।गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका अनुसार पहिलेको वर्षाले गाईघाट–फोक्सिन्टार बीचको अँधेरी, जल्केनी र छामलिङमा पहिरो गएर आवागमन रोकिएको थियो । सो ठाउँमा रातारात मर्मत गरेर यातायात सुचारु गर्ने प्रयास गरी पनि पुन पहिरो गएर अबरुद्ध हुन पुगेको गाईघाट– दिक्तेल सडक आयोजना कार्यालय प्रमुख पशुपति ज्ञवालीले बताए ।
जल्केनीको पहिरो तत्काल मर्मत गर्न आवश्यक सामग्री र जनशक्तिसहित प्राविधिक टोली खटाइ सकिएको छ । यसै सातासम्म मर्मत गरिसक्ने गरी काम सुरु भएको ज्ञवालीको भनाइ छ । सडक कार्यालयका अनुसार जल्केनी बाहेक अन्य ठाउँमा पनि स–साना पहिरो निकै ठाउँ भत्कने क्रम जारी रहेको तर, गाडी नै चल्न नसक्ने गरी भत्केको छैन ।
यस्तै सिराहाको मिर्चया–कटारी–घुर्मी हुँदै ओखलढुंगा जोड्ने सिद्धिचरण लोकमार्ग पुर्ण रुपमा सुचारु हुन केहि लाग्ने जनाएको छ । कटारी–घुर्मी खण्डको बेतीनीसम्म दर्जन बढी ठाउँमा भत्केको पहिरो पन्छाइ सकिए पनि कटारी नगरपालिका–११, ठाँटीस्थित लप्सेभीरमा गएको झण्डै डेढ सय मिटर बढी लामो पहिरोको ठाउँमा नयाँ ट्रयाक खोल्ने काम सम्पन्न भई सडक सुचारु हुन लागेको हो ।
सडक डिभिजन लहानले दश दिनदेखि ५ वटा स्काभेटर र एउटा जेसिबी लगाएर नयाँ ट्रयाक खोल्ने काम सम्पन्न गरेको हो । डिभिजन प्रमुख विनोद साहले मोटरसाइकल चल्न सक्ने गरी ट्रयाक खनि सकेको केहि दिनमा नै यातायात सञ्चालन हुने बताए । सिद्धिचरण लोकमार्ग अवरुद्ध हुँदा कटारी नगरपालिकाका पहाडी वडाहरू ८ देखि १४ सम्मका स्थानीय खाद्यान्न र बिरामी भए औषधी उपचार सेवा पाउन नसक्ने अवस्थामा पुगेका छन् ।