
महेन्द्रनगर । महेन्द्रनगरस्थित श्री लिटिल बुद्ध कलेजमा अध्ययनरत एक विद्यार्थीले ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेका छन् । कलेजको कक्षा १२ व्यवस्थापन संकायमा अध्ययनरत भीमदत्त नगरपालिका भाँसीका सुरज लेखकले ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेका हुन् । उनले आत्महत्या गर्नुपूर्व लेखिएको ‘सुसाइड नोट’ मा कलेजका एक जना शिक्षकको नाम समेत इन्गित गरेका छन् । सुरजले ‘सुसाइड नोट’मा आफू मर्नुको कारण लिटिल बुद्ध कलेजका व्यवस्थापन संकायका संयोजक हरिलाल जोशीलाई जिम्मेवार ठहर गरेका छन्। मृतकका परिवारले पनि कलेजका शिक्षकले उनलाई मानसिक तनाब दिने गरेको आरोप लगाएका छन् ।
कलेजका प्रिन्सिपिल श्यामसिंह मौनीका अनुसार शुक्रवार कलेज नआएका सुरज र उनका अन्य दुई साथीहरु अभिषेक चन्द र मनिश विष्ट कलेज नजिकैको होटलमा बसेका थिए। सुरज कलेज पोशाकमा थिएनन्, उनको त्यस दिन पेटमा समस्या आएकाले बजार औषधी लिन गएको दाई सागर लेखकले बताए।
कलेज समयमा कलेजको पोशाकमा होटलमा बसिरहेका उनीहरुलाई संयोजक हरिलाल जोशीले समातेर कलेजमा पुर्याए। कलेज बिदा भइसकेपछि धेरै अबेरसम्म उनीहरुलाई कलेजमै राखियो। ती तिनै जनालाई धेरैबेर कलेजमा नै पर्खाएर पछि भोलिदेखि नियमित विद्यालायमा आउने लिखित प्रतिबद्धता गराएर छोडियो। यसबीचमा उनीहरुबाट लिखित रुपमा कागजमा ‘औँठा छाप’ गराउने काम मात्रै भएन, उनीहरुको अभिभावकलाई विद्यार्थीको अवस्था बारे जानकारी दिने काम समेत भयो।
मृतक सुरज बाहेक अरुका अभिभावकलाई सम्पर्क भयो र उनीहरुलाई अभिभावकको जिम्मा लगाइयो। तर सुरजका अभिभावकसँग सम्पर्क हुन सकेन। सुरजलाई पनि कागजमा ‘औँठा छाप’ लगाएर छोडियो। पछि उनको अभिभावकसँग सम्पर्क भएपछि सुरजको पछिल्लो अवस्थाबारे जानकारी दिइएको थियो। उनका बुवा गणेश दत्त लेखक जगन्नाथ बहुमुखी क्याम्पस बैतडीका प्राध्यापक ९पूर्व–क्याम्पस प्रमुख हुन्।






















