
काठमाडौं, ८ साउन ।गत सोमबारदेखि सक्रिय बन्दै गएको मनसुनी वर्षा केही दिन जारी रहने बताउ“दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागले बाढी–पहिरोको जोखिम बढ्ने सम्भावना भएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो । देशका विभिन्न स्थानमा सोमबारदेखि वर्षापछिको बाढी तथा पहिरोका कारण सडकखण्ड अवरुद्ध छन् । पहिरोमा परी गुल्मीमा ११ र चट्याङका कारण सप्तरीमा तीन जनाले ज्यान गुमाएका छन् ।मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा नेपालको दक्षिणतिर रहेको र बंगाल खाडीबाट प्रवेश गरेको जलवाष्फयुक्त हावा र स्थानीय वायु प्रभावका कारण पूर्व–मध्यका अधिकांश तथा पश्चिमका केही स्थानमा सोमबारदेखि वर्षा सुरु भएको छ ।वर्षापछिको बाढी–पहिरोका कारण विशेषगरी पूर्वी क्षेत्रका राजमार्ग तथा सडकखण्ड अवरुद्ध छन् ।
सिद्धिचरण राजमार्ग, सिद्धार्थ राजमार्ग, मेची राजमार्ग, कान्ती लोकपथ, बेसिसहर–मनाङ तथा बेनी–जोमसोम सडकखण्डमा बिहानैदेखि सडक आवागमन ठप्प भएको गृह मन्त्रालयअन्तर्गत विपद् व्यवस्थापन शाखाले जनाएको छ ।
रूपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, नवलपरासी पूर्व, तनहुँ, गोरखा, धादिङ, लमजुङ, चितवन, पर्सा, बारा, मकवानपुर, रौतहट, सिन्धुली र आसपासका क्षेत्रमा मंगलबार मध्यमदेखि भारी वर्षा भएको छ ।