चितवन, ३ साउन। नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी सवार जीप खसेको दासढुंगामा पर्यटन विभागले धमाधम क्रंक्रिटको संरचना निर्माण गरिरहेको छ ।
पर्यटन विभागले जीप खसेको भिरालो ठाँउको ऐतिहासिक महत्व र पृष्ठभूमि नै मासिने गरी संरचना निर्माण गरेको भन्दै सरोकारवालाहरुले आपत्ति जनाएका छन् ।विभागले झण्डै ६० लाखको लागतमा रिटेन्सनवाल निर्माणको काम गरिरहेको छ । सवारी पार्किङ, प्रतिक्षालय र शौचालय निर्माण गर्ने भन्दैं क्रंक्रिटको वाल निर्माणको काम भैरहेको छ ।
मदन भण्डारी फाउण्डेशन चितवनका अध्यक्ष डा। तिलचन्द्र भट्टराईले सरोकारवालाहरुसँग कुनै समन्वय नगरी आफूखुसी विभागले क्रंक्रिटको पर्खाल खडा गरेको आरोप लगाए ।‘मदन भण्डारी फाउण्डेशन चितवन दासढुंगादेखि भण्डारीको शव भेटिएको गाँजीपुरसम्म बृहत्तर गुरुयोजना बनाएर विकासको काम गर्न खोज्दैछ,’ अध्यक्ष भट्टराईले भने, ‘तर दासढुंगामा कसको योजनामा कसलाई सोधेर पर्खाल खडा गरिएको हो जानकारी भएन ।’
उनले मदन भण्डारी र जीवराज आश्रति सवार जीप खसेको स्थानको ऐतिहासिकता नै मासिने गरी पर्खाल निर्माण गर्नु आपत्तिजनक विषय भएको बताए । ‘मदन भण्डारीको हत्या भएको २६ वर्ष हुँदासम्म कसैले दासढुंगाको विकास गर्ने बारेमा सोचेन अहिले फाउण्डेशनले काम गर्न थालेपछि जथाभावी काम भैरहेको छ,’ अध्यक्ष भट्टराईले भने, ‘सरोकारवालासँग छलफल गरेर गुरुयोजना बनाएर मात्रैं काम गर्नुपर्दछ ।’
फाउण्डेशनले दासढुंगाको पहिलोचरणको गुरुयोजना तयार गरिसकेको छ । पर्यटन विभागले कल्पवृक्ष निर्माण सेवा काठमाण्डौंलाई दासढुंगामा रिटेन्सनवालसहित पार्किङ र गाँजीपुरमा भ्यूटावार निर्माण गर्ने भन्दैं १ करोडमा ठेक्का दिएको थियो ।असारभित्रै काम सक्ने भनिए पनि ठेकेदार अहिलेसम्म काम सकेको छैन । पर्खाल झण्डै ३० मिटर लामो र ३० मिटर नै उचाइको छ ।
पर्यटन विभागका इन्जिनियर सचिन्द्र यादवले ठेक्का सम्झौता डेढ महिना थप गरेर भदौं १५ पुर्याएको बताए ।जीप खसेको स्थानमै क्रंक्रिटको संरचना निर्माण गर्दा पर्यटन विभागले किन ध्यान दिएन भन्ने अनलाइनखबरको प्रश्नमा इन्जिनियर यादवले ठाउँ साँघुरो भएकोले बढाउन रिटेन्सनवाल दिएको बताए ।






















