सिँचाई डिभिजन कार्यालय भोजपुरका प्रमुख घुस लिँदै गर्दा पक्राउ


भोजपुर, ३० असार । सिँचाइ विकास डिभिजन कार्यालय भोजपुरका प्रमुख १ लाख ८० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख इन्जिनियर मोहनबाबु यादवलाई उपभोक्ता समितिबाट घुस लिँदै गर्दा अख्तियारले रंगेहात पक्राउ गरेको हो ।

षडानन्द नगरपालिका–१३ मा रहेको छाँगे खोला सिँचाइ आयोजनाको चालु आर्थिक वर्षको योजनाको फर–फराक गर्ने क्रममा उपभोक्ता समितिका अध्यक्ष लगायत पदाधिकारीबाट इन्जिनियर यादवले घुस लिएको अख्तियारको दाबी छ ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको झण्डै ९८ लाख लागत अनुमान रहेको सिँचाइ आयोजनाको यो वर्ष १७ लाख ८७ हजार १ सय ६७ रुपैयाँको काम गर्ने गरी सम्झौता भएको कार्यालय स्रोतले जनाएको छ । उपभोक्ता समितिका एक सदस्यका अनुसार इन्जिनियर यादवले २० प्रतिशत कमिसन दिए मात्र मूल्यांकन गरी बिल पास गरिदिने बताउँदै आएका थिए ।

इन्जिनियर यादव कार्यालय नजिकै रहेको फुपू–भदैनी खाजा घर एण्ड लजमा घुस रकम लिन पुगेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले त्यही होटलबाट रंगेहात पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार