
काठमाण्डौ, १९ असार । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समायोजनका लागि नेपाल प्रहरीले आवश्यक आधार तयार पारिसकेको बताएका छन् ।
संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा प्रहरी प्रमुख खनालले सैद्धान्तिक विषयमा निर्क्योल भएपछि आफुहरु कुनै पनि समयमा समायोजनका लागि तयार रहेको बताएका हुन् । प्रदेश अनुसार आवश्यक पर्ने जनशक्तिको खाका तयार पारिएको र अहिले २६ हजार जनशक्ति प्रदेशमा पठाइसकिएको उनले स्पष्ट पारे।
उनले भने, हामी प्रदेश प्रहरी समायोजनका लागि तयार छौँ । सैद्धान्तिक विषय मिल्ने बित्तिकै काम सकिन्छ । यो विषयमा निर्देशन आयो भने कुनै समस्या छैन । अहिले पनि २६ हजार प्रहरी कर्मचारी प्रदेशमा गएर काम गरिरहेका छन् ।
समिति सदस्य एवं पूर्व गृहमन्त्री जनार्दन शर्माले प्रदेश सरकार सरकारजस्तो नभएका कारण सर्वसाधारणमा राज्य सञ्चालन व्यवस्थाप्रति नै आशंका उब्जिएकाले सक्दो छिटो प्रदेश प्रशासनले आफ्नो हातमा नेतृत्व लिएर जनतालाई विश्वस्त पार्ने वातावरण मिलाउनुपर्ने बताए।
उहाँले कुन स्तरको पदसम्म प्रदेशमा भर्ना हुने र कुन स्तरको पदभन्दा माथिको संघमा भन्ने स्पष्ट पार्नुपर्ने बताए । त्यसैगरी तालिम भर्ती नीति, मापदण्डलगायत विषयको टुंगो लगाउनुको साथै पुल र फाजिल दरबन्दीको सट्टा आवश्यक पर्दा परिचालन गर्ने गरी रिजर्भको व्यवस्था मिलाउन सुझाव दिए ।
छलफलपछि कर्मचारी प्रहरीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा ३ को उपदफा ५ र दफा १४ तथा अन्य विवादित विषयमा गृहमन्त्रालयले बिहीबार साँझसम्म प्रतिवेदन तयार पारी समितिमा बुझाउने भएको छ ।
दफा १४ मा पुल दरबन्दी कायम हुने व्यवस्था गरिएको छ भने दफा ३ को उपदफा ५ मा ‘समितिले प्रदेश प्रहरी अन्र्तगतको कार्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी दरबन्दी सिफारिस गर्दा प्रदेश प्रहरीको पदमा कायम हुने नेपाल प्रहरीको दरबन्दी र पदसमेत यकिन गरी नेपाल प्रहरीको पद प्रमुख हुने प्रदेश प्रहरी कर्यालयमा संघीय कानुन बमोजिम अपराध अनुसन्धान गर्ने प्रयोजनको लागि आवश्यक संख्यामा नेपाल प्रहरीको दरबन्दी समेत रहने गरी सिफारिस गर्नुपर्नेछ’ भन्ने उल्लेख छ ।






















