विद्यालयको जग्गामा विवाद, पठनपाठनमा समस्या


धनुषाधाम ९ धारापानी मूलाबारीमा अवस्थित एक माध्यमिक विद्यालयले प्रयोग गरेको जग्गा आफ्नो रहेको भन्दै पशुपति लामाले दाबी गरेकी छिन्।

विद्यालयले ओगटेको खेल मैदानसहितसहितको करिब ७ कठ्ठा ९ धुर जग्गा आफ्नो रहेको लामाले बताइन्। सो विद्यालयलाई लामाको हजुरबुवाले कर्णबहादुर स्यांगबोले २०३३ सालमा कित्ता नं। ६० को जग्गा दान दिएका थिए। तर दान दिएकोभन्दा बढी जग्गा विद्यालयले ओगटेको लामाको दावी छ।

उनले पत्रकार सम्मेलन नै आयोजना गरी दान दिएको जग्गामा आफूले कुनै दाबी नगर्ने तर सोभन्दा बढी जग्गा नछाड्ने बताइन्। उनले भनिन् ‘हजुरबुवा कर्णवीर स्यांगबोले मेरी आमा श्यामकुमारी देवी लामालाई दिएको अंशको जग्गामध्ये एक कठ्ठा १६ धुर मेरो नाममा दर्ता छ।’ सो जग्गा विद्यालयले प्रयोग गरेर हडप्न खोजिरहेको उनको आरोप छ।

उक्त जग्गामा पर्खाल लगाएर खेल मैदान सहित केही संरचना विद्यालयले तयार गरेको छ। सो जग्गा साबिकको कित्ता नं। ६० सँग जोडेर आफ्नो रहेको भनी विद्यालयले विवाद गर्दै आएको लामाले आरोप लगाइन्।

विद्यालयलाई जग्गा दानको भरपाई गर्नेमा कर्णबहादुर नाम उल्लेख छ। तर लामाले हजुर बुवाको नाम कर्णवीर रहेकोले विद्यालयको जग्गा पनि अवैधानिक तरिकाले गएको दाबी गरिन्।

विद्यालय व्यवस्थापकको उक्साहटमा निजी आफ्नो जग्गा पनि हड्प्ने प्रयास भएको उनको आरोप छ। दानको रुपमा प्रदान गरिएको करिब ६ कठ्ठा जग्गामा पुनः दाबी गर्दै लामाले खोस्न खोजेको भन्दै विद्यार्थी सहित केही स्थानीयहरु समेत विरोधमा उत्रँदै आएका छन्।

२०५६ साल मंसिर १४ गते पुनरावेदन अदालतमा उक्त जग्गाका सम्वन्धमा मुद्दा दायर भएको थियो। उक्त मुद्दा विद्यालयले जितेको थियो। जग्गा धनीले २०६९ साल असोज २ गते सर्वोच्च अदालतमा मुद्दा हालेका थिए। सो मुद्दा पनि विद्यालयको पक्षमा सुनाइएको थियो।

विद्यालय व्यवस्थापन समितिले २०३३ सालमा नै दानस्वरुप प्राप्त भएको भपाई देखाउँदै फिर्ता गर्न नसकिने जनाउँदै आएको छ।
हाल विद्यालयमा १ हजार ३ सय ४५ बिद्यार्थी अध्ययनरत छन्। विद्यालयको जग्गा विवादले बेलाबेलामा पठनपाठनमा समेत समस्या आउने गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार