सप्तरी १३ असार । जिल्लाको सप्तकोशी नगरपालिकामा पनि डेङ्गुको सङ्क्रमण देखिएको छ । सप्तकोशी नगरपालिका–२ कि २६ वर्षीया अनीता राजधामीको कञ्चनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रगत परीक्षण गर्दा डेङ्गुको सङ्क्रमण देखिएको हो ।
निरन्तर आएको ज्वरो कम नभएपछि स्वास्थ्य केन्द्रमा जाँच गर्दा राजधामीमा डेङ्गुको सङ्क्रमण देखिएको कञ्चनरुप नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डम्बर गुप्ताले बताए । उनकी दिदी धरानमा बसोबास गर्ने भएकाले उतैबाट सङ्क्रमण आएको हुनसक्ने आशङ्का गरिएको छ ।
यसअघि असार ४ गते कञ्चनरूप नगरपालिका–६ जमुवाका २७ वर्षीय रमाकान्त चौधरीमा डेङ्गु रोगको सङ्क्रमण देखिएको थियो ।
उनका दाजु ३२ वर्षीय देवकान्त चौधरी डेङ्गु रोगले सङ्क्रमित भई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत रहेका बेला घर फर्किएका रमाकान्तको परीक्षण गर्दा रमाकान्तमा समेत सङ्क्रमण फेला परेको स्वास्थ्य शाखा प्रमुख गुप्ताले जानकारी दिए । दुवै दाजुभाइ धरानमा फलामको ग्रिल बनाउने मजदुर हुन् ।






















