
कालिकोट, ११ असार । नेत्रविक्रम चन्द विप्लवु समूहको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले कालिकोटको नरहरीनाथ गाउँपालिकामा आगजानी गरेका छन्। गएराति करिब एक बजे नरहरीनाथ गाउँपालिकामा आएको समूहले गाउँपालिका कार्यालय र दुई वटा वडा कार्यालयका कागजातहरु जलाएका हुन्।
जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी विनोद शर्माले विप्लव समूहका कार्यकर्ताहरुले गएराति नरहरीनाथ गाँउपालिकाको प्रमूख प्रशासकिय अधिकृतको कार्यकक्षको झ्याल फोडेर पेट्रोल खन्याइ आगो लगाएको जानकारी दिए। राति स्थानीय सुतिरहेको बेला गाँउपालिकामा भएको आगलागि इलाका प्रहरी चौकी कुमालगगाँउका प्रहरी र स्थानीय नागरिकले नियन्त्रणमा लिए। तर गाँउपालिकाको भौतिक संरचना र अभिलेख नष्ट भएको छ। उनले भने, क्षतिको एकिन विवरणसहित जानकारी आउन बाँकी छ।
प्रहरी प्रमुख शर्माका अनुसार गाउँपालिकामा भएको आगलागि नियन्त्रणमा लिँदै गर्दा नरहरीनाथ गाँउपालिकाको वडा नं ६ माल्कोटको वडा कार्यालयका कागजात जलाएका छन्। उक्त गाउँ विप्लव नेतृत्वको नेकपाका पार्टी प्रवक्ता तथा पुर्व मन्त्री खड्गबहादुर बिश्ववकर्मा प्रकाण्डको हो।प्रहरी वडा नं ६ मा जाँदै गर्दा नरहरीनाथ गाँउपालिकाकै वडा नं ५ रुप्सामा रहेको वडा कार्यालयका कागजातहरु नेकपाका कार्यकर्ताले जलाउन भ्याए। वडा कार्यालयहरु स्थानीय नागरिकहरुको घरको भाडामा भएकाले भवन नजलाई कार्यालयमा भएका कागजातलाई खुला ठाउँमा ल्याएर जलाएका छन्।
नरहरीनाथ गाँउपालिका उपाध्यक्ष मनसोभा बुढाले भौतिक संरचनाको अभावमा सेवा प्रवाह गर्न समस्या भइरहेका बेला साविकको गाविसको सामान्य भवन पनि जलाएपछि सेवा प्रवाह गर्न थप समस्या भएको बताइन्। उनले भनिन्, गाँउपालिकामा भएका अधिकांश अभिलेखहरु जलेर नष्ट भएका छन्। गाँउपालिकाको लेखा शाखामा रहेका केही कागजातहरु जोगाउन सकियो। प्रमुख प्रशासकीय अधिकृत र गाँउपालिका अध्यक्षको कार्यकक्षमा भएका कागजातहरु सबै जले।
गाँउपालिकामा कार्यरत कम्प्युटर अप्रेटर खगेन्द्र बुढाले गाँउपालिकाको सूचना तथा प्रविधि शाखामा रहेका सबै अभिलेखहरु पनि जलेर नष्ट भएको बताए। उनले भने गाँउपालिकाको लेखा शाखाबाहेकका अरु शाखाका अभिलेखहरु जोगाउन सकिएन।






















