गोरखा भूकम्पको केन्द्रविन्दुमा विद्यालय भवन निर्माण


गोरखा, २३ जेठ । भूकम्पको केन्द्रविन्दु बारपाकमा हिमालय माध्यामिक विद्यालयको नयाँ भवन निर्माण सम्पन्न भएको छ ।जापनी सहयोग नियोग ९जाइका० को सहुलियतपुर्ण ऋण सहयोगमा निर्माण भएको भवनको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभयो ।कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले भूकम्पको केन्द्रविन्दु बारपाकको पुनर्निर्माण अन्तिम चरणमा पुगेकाले अब आय वृद्धिमा केन्द्रित हुन स्थानीय बासिन्दालाई आग्रह गर्नुभयो । ‘यहाँ कृषि तथा पर्यटनमा सामूहिकता देखिनँ’, उहाँले भन्नुभयो, ‘पर्यटन र कृषिमा ध्यान लगाउनुहोस् । प्रदेशले के गर्नुपर्छ हामी गर्छौँ । होमस्टे, अर्गानिक खेती लगायतमा हामीले अनुदान दिन्छौँ । तपाइँहरु आत्मनिर्भर बन्नुहोस् ।’

प्रदेश सरकारले कोसेली बाँडे जसरी अनुदान नबाँड्ने उहाँले स्पस्ट पार्नुभयो । ‘तपाइँको ठोस योजना र लगानीका आधारमा मात्रै हामीले अनुदान दिने हो’, उहाँले भन्नुभयो, ‘बाख्रा पाल्नका लागि अनुदान लिने र त्यही पैसाले घडेरी किन्ने गर्न सरकारले दिँदैन । ’

नयाँ भवन जाइकाको ११ करोड रुपैयाँको लागतमा निर्माण भएको हो । भवनमा कक्षा कोठा सहित प्रयोगशाला, पुस्तकालय, शौचालय, प्रशासनिक कक्ष लगायतका १९ कोठा छन् । विद्यालय भवन भूकम्पले भत्किएपछि टहरामा पढ्दै आएका बालबालिका अब सुविधासम्पन्न भवनमा पढ्न पाउने भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार