
सुनसरी । जङ्गली जनावर बँदेलको आक्रमणमा परी सुनसरीको वराहक्षेत्र नगरपालिका–२ का डिकबहादुर बस्नेत घाइते भएका छन् । घरबाट बजार जाने क्रममा वडाको पुल्ठेगौंडास्थित घरबाट दुई किलोमिटरको दूरीमा घारीमा लुकेर बसेको बँदेलले आक्रमण गर्दा बस्नेत घाइते भएको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रहरीका विश्वनाथ यादवले बताएका छन् ।
बँदेलले हमला गर्दा, बस्नेतको बायाँ हातको एउटा औंलाको आधा भाग चुँडिएको छ भने दायाँ हातको बूढीऔंलाको मासु झुण्डिएको एवम् पेटको देब्रे भागमा टोकिदिएको भन्दै यादवले घटना टिपोट गरेर धरान प्रहरी खबर गरिदिएको उनले बताए ।
बेलुकी घरबाट आठ आरडी र तेह्र आरडीको बीचमा पर्ने सुनसरी–मोरङ सिंचाइ आयोजनाको डाँडाको बाटो भएर साइकलमा बयरवन वजारतर्फ जाँदै गर्दा, घारीमा लुकेर बसेको अन्दाजी ६०–७० किलो तौल भएको बँदेलले एक्कासि झम्टेर पेटमा गहिरो गरी टोकेको र आंैला खाइदिएको घाइते बस्नेतले बताए । करिब १५ मिनेटको लडाइँपछि आफू बच्न सफल भएको भन्दै बस्नेतले पेटमा भएको घाउ पोलिरहेको बताए ।






















