भोजपुरका मानबहादुरको मृत्यु प्रकरण रहस्यमय भन्दै, श्रीमती र सासूमाथि हत्याको आरोप..


भोजपुर,१५ जेठ । भोजपुरको षडानन्द नगरपालिका–९ किमालुङका ३५ वर्षीय सुरेश भनिने मानबहादुर तामाङको मृत्यु रहस्यमय बन्दैगएको छ । आत्महत्या गरिएका भनिएका तामाङको हत्या गरिएको आरोप उनकै सासू र श्रीमतीमाथि लागेपछि रहस्यमय बनेको हो ।

षडानन्द नगरपालिका–३ खार्तम्छास्थित ससुराली घरमा गत शनिबार विषादी सेवन गरी आत्महत्या गरेको भनिएका तामाङको सिरानीले थिचेर हत्या गरेको आरोप लगाइएको हो ।तामाङ परिवारले विषादी सेवन गरेको नभइकन श्रीमतीसँग मिलेर ससुराली पक्षले हत्या गरेको आरोप लगाएको छ । दाजु चक्रबहादुरले किटानी जाहेरी दिएपछि प्रहरीले मानबहादुरकी श्रीमती २२ वर्षीया कविता तामाङ, सासू ४५ वर्षीया पम्फा तामाङ र भान्जा भनिने ३३ वर्षीय पूर्ण तामाङलाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।

मृतक मानबहादुर तामाङ्ग ..

 

धरान घर भएका पूर्ण मृतकको ससुराली घरमा मिस्त्री काम गर्दैआएका व्यक्ति हुन् । मृतकको भान्जा भन्दै प्रहरीलाई झुक्याउने गरेको र घटनामा उनको पनि संलग्नता रहेको आशंकामा पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए ।शवको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरिएपछि परिवारका सदस्यले मंगलबार अन्त्यष्टी गरे । घटनामा संलग्नताको आशंका गरिएका पूर्ण तामाङले आफ्नै मामा भन्दै मृतकका श्रीमती र सासूलाई पनि धरान लैजानुपर्ने भन्दै आफूहरुलाई झुक्काएको राजवंशीको भनाइ छ ।

पीडित पक्षसँग बुझ्दा कुनै नाता सम्बन्ध नभएको पाइएपछि पक्राउ गरिएको बताइएको छ । घटनाको प्रकृति हेर्दा हत्या नै जस्तो देखिएको र पक्राउ गरिएकाहरुले शंकास्पद व्यवहार देखाइरहेका कारण संवेदनशील रुपमा अनुसन्धान सुरु गरिएको डीएसपी केशवकुमार थेवेले बताए ।

‘शवको पोस्टमार्टम भए पनि रिपोर्ट आइसकेको छैन । घटनालाई सबै प्रमाणसँग जोडेर अनुसन्धान गर्ने काम भइरहेको छ,’ उनले बताए । पोस्टमार्टम रिपोर्टले पनि विषादी सेवनका कारण मृत्यु भएको हो वा अर्कै कारणले घटना भएको हो भन्ने प्रष्ट पार्ने डीएसपी थेवेको भनाइ छ ।

मृतकका दाजु चक्रबहादुरले भाईको शव भेटिएको ओछ्यान छेउमै विषादीको बट्टा भेटिएको भए पनि धेरै पहिले प्रयोग गरिसकेको अवस्थामा रहेको र त्यसबाट विषादीको कुनै गन्ध नआएको बताएका छन् ।घटनाको प्रकृति हेर्दा निदाएको मौका छोपी सिरानीले घाँटी थिचेर हत्या गरिएको धनबहादुरको आरोप छ । प्रहरीका अनुसार मृतककी श्रीमती कविताले गत शुक्रबार बेलुकी खाना खाइ साथै मोबाइलमा फिल्म हेर्दै बसेको र तल्लो गाउँतिर पुगेर राति करिव १० बजे फर्किँदा श्रीमान मृत भेटिएको बताएकी छन् ।  साभार अन्नपुर्ण पोष्टबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार