
काठमाडौं । सरकारले दुर्गम क्षेत्रका सुत्केरी तथा गर्भवतीको उद्दारका लागि २२ करोड बजेट विनियोजन गरेको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकका लागि बजेट छुट्याइएको जनाउँदै अर्थमन्त्री डा युवराज खतिवडाले हिंसापीडित महिलाको उद्दार र राहत र कानुनी उपचारका लागि पुनस्थापना केन्द्र बनाउने बताएका छन्। सरकारले महिला बालबालिका र ज्येष्ठका लागि ७८ अर्ब बजेट विनियोजन गरेको छ ।
बजेट भाषण अपडेटः कृषि तथा पशुपंक्षी क्षेत्रमा ३४ अर्ब ८० करोड
सरकारले कृषि तथा पशुपंक्षी क्षेत्रमा ३४ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री डा।युवराज खतिवडाले बुधबार संघीय संसदमा बजेट प्रस्तुत गर्दै कृषि क्षेत्रको विकास, किसानलाई अनुदान, स्वदेश तथा विदेशबाट फर्केका युवालाई कृषि उद्यमी बनाउन ३४ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।
एक स्थानीय तहमा एक प्राविधिक पुर्याउने तथा उखु किसानलाई अनुदान दिने सरकारको उद्देश्य छ । तर सरकारले यस वर्ष पनि प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमका लागि ८ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
यो कार्यक्रमले केही पहुँच भएका किसानलाई मात्रै फाइदा पुगेको भन्दै आलोचना समेत हुने गरेको छ । तर यो कार्यक्रमलाई सुधार र परिमार्जित गर्नका लागि ८ अर्ब बढी बजेट छुट्याइएको हो ।
यस्तै सरकारले कृषि क्षेत्रको अनुसन्धानका लागि कृषि तथा वन विश्वविद्यालयलाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने पनि जनाएको छ ।





















