
भोजपुर, ९ जेठ ।
भोजपुरको आमचोक गाउँपालिका –८ दुम्माना दिंलापुरका एक व्यक्तीले वडा कार्यालय र स्वास्थ्य चौकी भवन निर्माणको लागि निशुल्क जग्गा दिएका छन् । स्थानीय कर्ण बहादुर राईले स्वास्थ्य चौकीको लागि चार रोपनी र वडा कार्यालयको लागि चार रोपनी गरि आठ रोपनी जग्गा दान गरेका हुन् ।

राईले करिव २० लाख बरावरको जग्गा दिनु भएको गाउँपालिकाका उर्जा कर्मचारी केशर श्रेष्ठले जानकारी दिनु भयो । राईले बुधबार वडा कार्यालय र स्वास्थ्य चौकीको नाम जग्गा पास गरिदिएका छन् ।
वडा कार्यालयको भवन निर्माण जिल्ला समन्वय समितिबाट १५ लाख र स्वास्थ्य चौकी भवन निर्माणका लागि सामाजिक विकास मन्त्रालयबाट २० लाख रकम आएको भएपनि जग्गा नपाउदा काम शुरु हुन सकेको थिएन ।
समिति गठन भएकोले अव दुवै भवनको निर्माण कार्य शुरु गरिएको गाउँपालिका अध्यक्ष अशोक राईले बताए ।






















