इजरायल, २२ बैशाख । इजरायली सेनाले प्यालेस्टाइन क्षेत्रमा आक्रमण गर्दा १४ महिने शिशुसहित चार जनाको मृत्यु भएको छ । चरमपन्थी समूहले २ सयभन्दा बढी रकेटबाट इजरायली क्षेत्रमा आक्रमण गरेपछि जवाफी कारबाही गरेको इजरायली सेनाले जनाएको छ ।
चरमपन्थी समूहले गरेको आक्रमणबाट तीन जना घाइते भएको सेनाको भनाइ छ । दक्षिण इजरायलमा रकेट आक्रमण हुन थालेपछि खतराको संकेतस्वरुप साइरन बजाइएको थियो ।
त्यसपछि मानिसहरु लुक्नका लागि सुरक्षित स्थानतिर भागेका थिए । इजरायलमा अप्रिलमा भएको चुनावको बेला दुवैतर्फबाट संघर्षविराम भएको थियो ।
तर, अहिले फेरि तनाव बढेको छ । संयुक्त राष्ट्रसंघले संघर्षविराम लम्बाउने प्रयास गर्दागर्दै तनाव बढेको बीबीसीले जनाएको छ । गजापट्टीको सीमावर्ती इजरायलको क्षेत्रमा शनिबार भएको रकेट आक्रमणबाट धेरै घरहरुमा क्षति पुगेको छ ।






















