इलाका प्रहरी कार्यालय बर्दिवासले भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिवास नगरपालिका ५ बस्ने वर्ष ३० का प्रेम्बा लामा रहेको प्रहरीले जनाएको छ ।
लामाको साथबाट प्रहरीले २ सय ग्राम बारुद र त्यसमा प्रयोग हुने किटको गोली आकारको टुक्राहरु बरामद गरेको छ । बर्दिवास ५ स्थित टुटेश्वर बन क्षेत्रमा अबैध रूपमा बन्यजन्तु सिकार भैरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको र लामा पक्राउ परेको हो ।
ठूलो संख्यामा रहेका उनीहरु प्रहरीलाई देखेपछि अन्य हतियारधारी सिकारी फरार भएका छन् । उनीहरुको खोजतलास भैरहेको प्रहरीले जनाएको छ ।
बर्दिवास नगरपालिकास्थित राष्ट्रिय वन क्षेत्रमा अबैध रूपमा बन्यजन्तु चोरी सिकारी हुने गरेको छ । बर्दिवास नगरपालिका क्षेत्र र चुरेको उत्तरवर्ती जंगल क्षेत्रमा वन्यजन्तुकाे चोरी शिकार बढ्दो छ ।
चोरी शिकारका कारण बदेँल, मृग, हरिन, नीलगाई, वन कुखुरा, मासिदै गएको छ । यसरी हुने चोरी सिकारीबाट बन्यजन्तुको मासु तथा बन्यजन्तु छाला प्रशासनका उच्च तहका अधिकारि सम्म पुग्ने गरेको छ ।
जिल्ला वन कार्यालय महोत्तरीको वन गस्ती पछिल्लो समय फितलो बन्दै गएको र बन क्षेत्रमा अबैध चोरी सिकारी बढेकाे छ । यस क्षेत्रको बनजङ्ल र चुरे क्षेत्रको जंगलबाट दिउँसै वन्यजन्तुको चोरी सिकारी हुन गरेको छ ।
पक्राउ परेका लामालाई ईलाका प्रहरी कार्यालय बर्दिवास राखेर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।