रोजगारीको प्रलोभनमा ठगिए , ६ जिल्लाका ४ सय बढी युवा


आकर्षक रोजगारीका नाममा ६ वटा जिल्लाका ४ सय बढी युवा ठगिएका छन् । राम्रो रोजगारी पाउने आसमा नेटवर्किङ धन्दामा संलग्नहरूबाट उनीहरू ठगिएका हुन् । ठगिनेमा काभ्रे, रामेछाप, सिन्धुपाल्चोक, ओखलढुंगा, सिन्धुली र मोरङ जिल्लाका तामाङ समुदायका ४ सयभन्दा बढी युवा रहेको प्रहरीले जनाएको छ ।

ठगिनेमा शिक्षकको जागिरसमेत छाडेर यसलाई पेसा बनाउन खोज्ने पनि छन् । ठगिएपछि केही युवाले एक साताअघि जिल्ला प्रहरी कार्यालय काभ्रे धुलिखेलमा उजुरीसमेत दिएका छन् ।

काभ्रेको खानीखोला–५ का विवेक वाइवाले आफूलाई नेटवर्किङ व्यवसायी खानीखोला–५ का प्रेम बलले ठगी गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेमा उजुरी दर्ता गरेका हुन् । उनीसँगै खानीखोलाकै राजेन्द्र थोकर, इमानसिं थोकर, विकास थोकर, डोजकुमार लामा पनि ठगिएका छन् ।

प्रहरीसमक्ष उजुरी दिएलगत्तै पीडितले शनिबार बनेपामा पत्रकार सम्मेलन गरी न्याय पाउने वातावरणको सिर्जना गराइदिन माग गरेका छन् । युवाहरूले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार, भारतको बिहार प्रदेशअन्तर्गत मोतीहारी जिल्लामा रहेको आइकोनिक ट्रेड प्रालिलाई नेपालका ५ सय युवाले प्रतिव्यक्ति १ लाख २५ हजार भारतीय रुपैयाँ बुझाएका थिए ।

मासिक ४० हजार भारतीय रुपैयाँ आम्दानी गर्ने भएपछि सो रकम बुझाएको धर्मलाल लामाले बताए । आफ्नो गाउँका दाजुभाइ प्रेम बलसँगै रौतहटका अमित तिमल्सिना, बाराका उदयराज पाण्डे, बाराकै सञ्जय रेश्मी मगर, रौतहट चपुरका निग्मा भनिने राजु लामा र हेलन रेग्मी भनिने तारा थापा मगरले आफूहरूलाई प्रलोभनमा पारेर रकम लिएको उनले पत्रकार सम्मेलनमा सुनाए ।

उनीहरूले प्रत्येक युवासँग पैसा लिएपछि सो कम्पनीको नाममा फाराम भरेर रकम असुल गरी काम नदिएर ठगीएको बताएका छन् । युवाहरूले एक साताअघि प्रेम बलका विरुद्ध उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेको विशेष टोलीले पनौतीबाट उनलाई पक्राउ गरेको थियो ।

काभ्रेमा ठगीमा पर्नेहरूमा बेथानचोक गाउँपालिका–६ का ओमविक्रम लामा, सोही वडाका विवेक वाइवा, इमानसिं थोकर, विकास थोकर, गोजकुमार थोकर, युवराज लामा, धर्मलाल लामा, सुरज लामा, सन्तलाल रुम्बा तथा सोही गाउँपालिका–२ का विजय थोकर, विजय स्याङ्तान र सञ्जय पुलामी एवं खानीखोला–५ का विवेक वाइवा, खानीखोला–६ का सुवास थिङ, राजेन्द्र थोकर, छेवाङ स्याङ्तान, पाँचखालका कृष्णकुमार राई, खानीखोला–६ का महेन्द्र पाख्रिन, बेथानचोक–३ का विकास लामा, सिन्धुपाल्चोकका टेम्बा लामा, सिन्धुलीका उमेश पहाडी, दीपक काफ्ले, नारायण घिमिरे, ओखलढुंगाका सीताराम लुइँटेल, सिन्धुलीकै कमल दाहाल, सिरहाका रोहित खतिवडा र तनहुँका सजेस्ट आले मगर रहेका छन् ।

प्रहरीले ठगिएको घटनाका आरोपीहरूलाई खोजी गरिरहेको बताएको छ । उनीहरूले झन्डै ८ करोड रुपैयाँ ठगेको बताएका छन् । उनीहरूलाई टुरिस्ट गाइडलगायतका आकर्षक रोजगारी दिने बताइएको थियो । राजधानी दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार