प्रदेश १ को पहिलो बैठकको तयारी यसरी गरिदै


विराटनगर २२ माघ । प्रदेश १ को अस्थायी मुकाम विराटनगरमा आज दिउँसो १ बजे बस्ने पहिलो प्रदेशसभा बैठकको तयारी पूरा भएको छ । जिल्ला समन्वय समितिको हलमा बस्ने बैठकलाई ऐतिहासिक बनाउन सबै हिसाबले तयारी पूरा भएको संसद सचिवालयका सहसचिव ध्रुव घिमिरेले जानकारी दिए । प्रदेशसभा बैठकस्थल साजसज्जा गरीे भवनलाई चिटिक्क पारेर सिंगारिएको छ ।

रंगरोगन लगायतका कार्य सम्पन्न भएको छ । सभाहलभित्र कार्पेट बिछ्याउनुका साथै कुर्सी व्यवस्थापनलगायतका आवश्यक काम पूरा भएको सहसचिव घिमिरेले जानकारी दिए ।

सभा भवनको मञ्चमा सभामुख, संसद् सचिव र कार्य व्यवस्थाको कुर्सी राखिएको छ । मञ्चको मुनी अघिल्लो पंक्तिमा उपसभामुख, उच्चपदाधिकारीका कुर्सी छन् ।

मञ्चबाहेक एकसय ४३ वटा कुर्सीको व्यवस्था गरिएको छ । जसमा हलको पूर्वपट्टिको भागमा एमालेका सांसदका ५१ वटा कुर्सी राखिएको छ भने पश्चिम तर्फको पहिलो रोमा नेपाली कांग्रेसका लागि २१ कुर्सी छुट्याइएको छ । त्यसपछि माओवादीका सांसद बस्नका लागि १५, संघीय समाजवादीका ३ तथा संघीय लोकतान्त्रिक मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र सांसदका लागि एक–एक कुर्सीको व्यवस्था गरिएको छ ।

एमाले सांसदहरुको रो सकिएपछि पछाडिको भागमा आमन्त्रित अतिथि बस्ने व्यवस्था गरिएको छ । सांसदहरु बस्ने कुर्सीमा आकासे नीलो र अतिथि बस्ने कुर्सी सेतो रंगको कभर लगाइएको छ ।

सभा हलका भित्तामा १ नम्बर प्रदेशका धार्मिक एवम् पर्यटकीय क्षेत्रका फोटाहरु टाँगिएका छन् । सगरमाथा हिमाल, हलेसी महादेव, ओखलढुङ्गा, उदयपुर गढी, भोजपुरे खुकुरी, मकालु हिमाल, लालीगुँरास, छिन्ताङ भगवती, बराहक्षेत्र मन्दिर, विराट दरवार, अर्जुनधारा, फाल्गुनन्द र पाथीभरा माताको तस्विर भित्तामा टाँगिएका छन् ।

सभाहलको बाहिरपट्टि उत्तरतर्फको भागमा सञ्चारकर्मीलाई टेण्ट टाँगेर रिपोर्टिङ गर्ने व्यवस्था मिलाइएको छ । जसमा ९२ इन्चको मर्दामा प्रोजेक्टरमार्फत सभाहलको प्रत्यक्ष प्रशारण गर्ने व्यवस्था मिलाइएको छ ।
१ नम्बर प्रदेशमा नेकपा एमाले ५१, नेपाली कांग्रेस २१, माओवादी केन्द्र १६, संघीय समाजवादी फोरम ३, राप्रपा १ संघीय लोकतान्त्रिक मञ्च १ र स्वतन्त्र एक गरी कुल ९३ सांसद छन् । प्रदेश सभामा सहभागी हुन १४ जिल्लाका सांसद विराटनगर आइसकेका छन् ।

मोरङका प्रहरी प्रमुख अरुणकुमार विसीले प्रदेशसभा अधिवेशन सुरक्षाका लागि २ सय १५ प्रहरी परिचालन गरिएको जानकारी दिए । त्यसैगरी सशस्त्र प्रहरीका १ सय ५० जना प्रहरी परिचालन गरिएको छ । प्रदेश सभाको पहिलो अधिवेशनका लागि प्रहरी निरीक्षकको कमाण्डमा ३० जना मर्यादापालक परिचालन गरिएको छ ।

यस्तो छ पहिलो बैठकको कार्यसूची

प्रदेश अधिवेशन सवा घण्टा चल्ने छ । बैठकको अध्यक्षता ७४ वर्षीय जेष्ठ सदस्य ओम सरावगीले गर्नेछन् । नयाँ सभामुख चयन नभएसम्म बैठक सञ्चालनको जिम्मा उनकै हुनेछ ।

प्रदेशसभा संसद सभामुखको निर्वाचन भने आगामी माघ २९ गते र उपसभामुखको निर्वाचन फागुन ३ गते गर्ने निर्णय सर्वदलीय बैठकबाट भएको संघीय संसद सचिवालयका उपसचिव सहजीत राईले जानकारी दिए । सभामुखको उम्मेदवारी दर्ता माघ २८ गते र उपसभामुखको उमेदवारी दर्ता २ गते हुनेछ ।

प्रदेशसभाको पहिलो बैठकलगायतका विषयमा आह्वान गरिएको सर्वदलीय समझदारीअनुसार प्रदेशसभा बैठकको कार्यसूची, अन्तरिम कार्यविधी, सभामुख र उपसभामुखको निर्वाचनको मिति तोक्ने निर्णय भइसकेको छ ।

यसैगरी सभामुखलाई सहयोग गर्नका लागि पाँच सदस्यीय अध्यक्षता मण्डल गठन गर्ने निर्णय भएको छ । अध्यक्ष मण्डलमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट एक–एक जना छन् । प्रदेशसभा पहिलो बैठकमा सात जना प्रदेशसभा सदस्यहरुले शुभकामना मन्तव्य राख्नेछन् । हरेक सदस्यलाई पाँच मिनेटको समय निर्धारण गरिएको राईले जानकारी दिए ।

पहिलो बैठकमा एमालेबाट भीम आचार्य, नेपाली कांग्रेसबाट केदार कार्की, माओवादी केन्द्रबाट इन्द्रबहादुर आङ्बो, स्वतन्त्रबाट नारायणबहादुर मगर, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट विष्णु तुम्बाहाम्फे, संघीय समाजवादी फोरमबाट जयराम यादव र राप्रपाबाट इन्दिरा राईले बोल्ने छन् । प्रदेश संसदको पहिलो बैठकमा भाषा र पोशाकको विषयमा निर्णय नभएको राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार