चैतभित्रै जनकपुरमा रेल, जयनगर–जनकपुर–बर्दिबास रेल लिक धमाधम निर्माण हुँदै


जनकपुर, १० पौष ।

भारतको जयनगरदेखि जनकपुर हुँदै बर्दिबास जोड्ने रेल परियोजनाअन्तर्गत लिक बिछ्याउने कार्य तीव्र गतिमा अघि बढेको छ । आगामी चैत मसान्तभित्र जनकपुरसम्म रेल ल्याउने योजनाका साथ निर्माण कार्यलाई तीव्रता दिइएको छ ।

भारतको जनयनरदेखि जनकपुर हुँदै बर्दिबाससम्म कम्तीमा ७ हजार यात्रु दैनिक आवतजावत गर्न सक्ने सो रेलमार्गको जयनगरदेखि परवाहा स्टेसनसम्म रेलको लिक बिछ्याउने काम अन्तिम चरणमा पुगेको छ ।

परवाहा स्टेसनबाट जनकपुर १० किलोमिटर दूरीमा छ । यस क्षेत्रमा पनि लिक बिछ्याउने कार्य तीव्र गतिमा अघि बढेको छ । हाल धनुषाको महिनाथपुरमा तीनवटा फलामको टुक्रा जोडेर सडकमा लिक र स्लिपर राख्ने काम भइरहेको छ ।

३५ किलोमिटर लामो उक्त मार्गमा रेल सञ्चालनका लागि आवश्यक झन्डै ४१ हजार टन पटरी ९रेलको लिक० भारतबाट ल्याउन सुरु गरिएको छ । केही पटरी जयनगर हँदै ल्याइएको छ भने केही वीरगन्ज भएर ल्याउन लागिएको हो ।रेलका पटरी ओछ्याउनुभन्दा पहिला त्यसमा स्लिपर तथा ढुंगा ओछ्याइन्छ । स्लिपर र ढुंगा पनि भारतबाटै ल्याइएको जनकपुर रेल्वेका इन्जिनियर विनोद ओझाले बताए । लिकमा सिमेन्टको स्लिपर ओछ्याइने गरिन्छ ।

जयनगरदेखि सुरु भएर जनकपुर हुँदै बर्दिबाससम्म पुग्ने ६९ दशमलव २ किलोमिटरमध्ये धनुषा कुर्थासम्म ३५ किलोमिटर रेलमार्गमा लिक बिछ्याउन लागिएको हो ।

भारतको आर्थिक र प्राविधिक सहयोगमा बनिरहेको यो परियोजना आसामको नायक इन्फ्रास्ट्रक्चरले बनाइरहेको छ । १० अर्ब रुपैयाँको यो परियोजनाका लागि आएका सबै लिक यसैअन्तर्गत हुन् । यो ब्रोडगेज रेलमार्ग हो ।

झन्डै ७० किलोमिटरमध्ये जनकपुर–बिजुलपुरासम्मको मार्गमा जग्गा सम्याउने काम भइरहेको विभागले जनाएको छ । मार्ग निर्माणको ठेक्का कालिकारमण जेभीले पाएको छ । बिजुलपुरादेखि बर्दिबासम्मको भने जग्गा अधिग्रहण हुन सकेको छैन ।

लिक बिछ्याउने कार्य सुरु भए पनि रेलको डिब्बा किन्ने प्रक्रिया भने अघि बढ्न सकेको छैन । लिक बिछ्याएर सबै काम सकिँदासम्म पनि रेलको डिब्बा आउने या नआउने पक्का हुन नसकेको हो ।

रेलमार्गमा आवश्यक पर्ने मालवाहक र यात्रुवाहक डिब्बा किन्न २ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । विभागले उक्त मार्गमा चलाउने रेलका डिब्बालगायतका पूर्वाधार माग गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरिसकेको छ । तर मन्त्रालयबाट अहिलेसम्म कुनै पनि निर्णय भएको छैन ।

निर्माण सम्पन्न हुनै लागेको उक्त लिकमा कसरी रेल सञ्चालन गर्न सकिन्छ भनेर विभागले अध्ययनसमेत गरेको थियो । अध्ययनअनुसार उक्त मार्गमा हाल कम्तीमा ७ हजार यात्रु दैनिक आवतजावत गर्ने अनुमान छ । त्यसैगरी, प्रशस्त मात्रामा सामान ओसारपसार हुने देखिएको छ ।

अध्ययनअनुसार विभागले यात्रु बोक्ने कम्तीमा पाँचवटा इन्जिन (लोकोमोटिभ_ आवश्यक परेको भन्दै मन्त्रालयमा प्रस्ताव गरेको छ । उक्त मार्गमा दैनिक चारवटा इन्जिन सञ्चालन गर्नुपर्ने र एउटा इन्जिन आपतकालीन अवस्थाका लागि तयारी हालतमा राख्नुपर्ने विभागको प्रस्ताव छ ।

त्यसैगरी, विभागले सामान बोक्ने चारवटा इन्जिन आवश्यक पर्ने प्रस्ताव गरेको छ । यात्रुसँगसँगै सामान पनि प्रशस्त मात्रमा हुने, ढुवानी सेवा पनि हुने भएकाले त्यसका लागि कम्तीमा चारवटा इन्जिन आवश्यक पर्ने विभागको निष्कर्ष छ । नेपाल सरकारले पहल गरे इन्जिन र बोगी रेलको डिब्बा जडानमा समेत सहयोग गर्न भारत सरकार तयार रहेको भारतीय रेल्वे अधिकारीहरू बताउँछन् । राजधानी दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार