
युवराज विष्ट
भोजपुर, साउन ।
सुनसरीको देवानगञ्जमा साउन १० गते राति घटेको हिंसात्मक घटनापछि सृजना भएको जटिल परिस्थितिप्रति विश्व हिन्दु महासंघ भोजपुर जिल्ला कार्य समितिले प्रेस विज्ञप्ती जारी गरेको छ ।
महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त घटनाबाट सिर्जिएको जटिल परिस्थितिले धार्मिक आस्थामा चोट पु¥याउने, सामाजिक सद्भाव खल्बल्याउने र समुदायबीच अविश्वास बढाउने जोखिम रहेको उल्लेख गरिएको छ। यस्ता गतिविधि समाजका लागि अत्यन्त दुःखद तथा निन्दनीय भएको महासंघको भनाइ छ।
महासंघ भोजपुरका सभापति आचार्य सोमनाथ कोइरालाले हस्ताक्षरित विज्ञप्तीमा नेपाल बहुधार्मिक, बहुसांस्कृतिक र सहिष्णु परम्परा बोकेको देश भएकाले यहाँका सबै धर्म, संस्कृति र समुदायबीच आपसी सम्मान, सहअस्तित्व र सहकार्य कायम रहनुपर्ने भनिएको छ । धार्मिक भावना भड्काउने, सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने तथा समाजमा असहज अवस्था सिर्जना गर्ने गतिविधि नियन्त्रण गर्न सम्बन्धित निकायलाई सक्रिय र संवेदनशील बन्न आग्रह गरिएको छ।
वर्तमान परिस्थितिलाई संयमित र शान्तिपूर्णढंगले समाधान गर्न सरकार, सुरक्षा निकाय, धार्मिक संघसंस्था तथा नागरिक समाज सबै पक्ष जिम्मेवार हुनुपर्ने महासंघको धारणा छ।
महासंघले आफू सधैं धार्मिक सहिष्णुता, सामाजिक एकता र आपसी भाइचाराको पक्षमा दृढ रहेको स्पष्ट पार्दै सम्पूर्ण नागरिकलाई शान्ति, सद्भाव र सहकार्य कायम राख्न हार्दिक अपिल गरेको छ।






















