बाढीपीडित किसानको सहारा बन्यो वडा : बोखिमका किसानलाई पाइप वितरण


युवराज विष्ट
भोजपुर, १६ असार ।
भोजपुर नगरपालिका–५ बोखिममा बाढीबाट प्रभावित किसानलाई लक्षित गर्दै निःशुल्क सिंचाइ पाइप वितरण गरिएको छ। गत वैशाख १२ गते आएको अविरल वर्षापछि आएको बाढीले यहाँका विभिन्न सिंचाइ कुलोमा क्षति पु¥याएपछि समस्या भोगिरहेका किसानलाई राहत उपलब्ध गराउने उद्देश्यले वडाले पाइप वितरण गरेको हो।
बाढीका कारण बोखिम क्षेत्रका करिब ६० देखि ७० वटा कुलो मुहानमा क्षति पुगेको वडाले जनाएको छ । कुलो भत्किँदा खेतसम्म पानी पु¥याउन समस्या हुँदा किसानहरू खेतीपाती गर्न निकै कठिन अवस्थामा पुगेका थिए। विशेष गरी धान रोपाइँको लागि सिंचाइ अभावले उत्पादनमा प्रत्यक्ष असर पर्ने देखिएको थियो।
यस अवस्थालाई मध्यनजर गर्दै वडा कार्यालयले तत्काल पहल गर्दै करिब रु. ३ लाख ५० हजार बराबरको सिंचाइ पाइप खरिद गरी प्रभावित किसानलाई वितरण गरेको वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिनुभयो। उहाँका अनुसार वितरण गरिएको पाइपले अस्थायी रूपमा भए पनि कुलो सञ्चालनमा ल्याउन सहयोग पुग्नेछ ।
बाढीबाट पुगेको क्षतिको यथार्थ विवरण संकलन गर्न वडाले स्थानीयस्तरमै अनुगमन समिति गठन गरेको थियो। उक्त समितिले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरी तयार पारेको प्रतिवेदनका आधारमा वास्तविक पीडित किसान पहिचान गर्दै पाइप वितरण गरिएको वडाध्यक्ष प्रधानले बताउनुभयो। यसले वितरण प्रक्रियालाई पारदर्शी र लक्षित बनाउन सहयोग पुगेको उहाँको भनाइ छ।
स्थानीय किसान दीपक दंगालले बाढीका कारण कुलो पूर्ण रूपमा बगाउँदा सिंचाइका लागि निकै समस्या भएको बताउनुभयो। “कुलो बिग्रिएपछि खेतमा पानी ल्याउन सकिएको थिएन”उहाँले भन्नुभयो“ रोपाइँ नै रोकिएको अवस्था थियो । वडाबाट पाइप पाएपछि अहिले अस्थायी रूपमा पानी ल्याउन सहजता भएको छ ।”
स्थानीय तहको यो पहलले बाढीपछि उत्पन्न समस्या समाधानमा महत्वपूर्ण भूमिका खेलेको स्थानीयवासीको भनाइ छ। दीर्घकालीन रूपमा भने स्थायी संरचना निर्माण गरी सिंचाइ प्रणाली मजबुत बनाउन आवश्यक रहेको उनीहरूको सुझाव छ।
वडाले आगामी दिनमा पनि विपद् व्यवस्थापन तथा पूर्वतयारीका कार्यक्रमलाई प्राथमिकतामा राख्दै किसानमैत्री योजना सञ्चालन गर्ने जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार