
युवराज विष्ट
भोजपुर, २६ जेठ।
भोजपुर नगरपालिका–५ र १० का स्थानीय बासिन्दाले अब वर्षौंदेखिको खानेपानी अभावबाट मुक्ति पाउने भएका छन्। धापखर्क खानेपानी आयोजना निर्माणको अन्तिम चरणमा पुगेसँगै ‘एक घर एक धारा’ कार्यक्रम कार्यान्वयनको नजिक पुगेको हो।
हाल यहाँका ३५ घर मध्ये २२ घरमा पानी वितरण भईरहेको निर्माण उपभोक्ता समितिका सचिव लाक्पा शेर्पाले बताउनुभयो । पानी वितरण भएपछि स्थानीयमा सहजता थपिएको उहाँको भनाइ छ ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरको करिव रु.२५ लाख लागतमा मुख्य पाएप,लाईन तथा इन्टेकसहित २ वटा ट्याङ्की बनाउने काम सम्पन्न भएको कार्यालयका प्राविधिक राजेश यादवले बताउनुभयो । अहिले वितरणको काम भईरहेको उहाँले जानकारी दिनुभयो । यहि आर्थिक वर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम भईरहेको उहाँको भनाइ छ ।
“धापखर्क खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ”उहाँले भन्नुभयो,“मुख्य पाएप लाईन र ट्याङ्की निर्माणको काम सम्पन्न भएको छ । अहिले धमाधम वितरणको काम गरिरहेका छौँ ।”
यो खानेपानी आयोजनाले धापखर्क आधारभूत विद्यालयसहित ३५ घर परिवारलाई राहत पुग्ने स्थानीयबासी तथा अनुगमन समितिका संयोजक कृष्ण बहादुर तामाङले बताउनुभयो । स्थानीयको माग बढेसँगै पानीको माग पुरा गर्न अर्को मुहानको पनि पानी मिसाउनु पर्ने भएकाले थप एक वटा ट्याङ्कीको आवश्यकता परेको उहाँको भनाइ छ । अर्को मुहान मिसाउनको लागि कार्यालयसँग माग गरिएको उहाँले जानकारी दिनुभयो ।
“यो खानेपानी आयोजनाले हाम्रो वर्षौदेखीको पानीको समस्या समाधान भएको छ”उहाँले भन्नुभयो,“खोलाखोल्सीमा बगेको पानीलाई जम्मा गरेर खानुपर्ने अवस्था थियो । अहिले त्यो अवस्थाको अन्त्य भएको छ । विद्यालयका बालबालिकाले पनि स्वाच्छ पानी खान पाएका छन् ।”
आर्थिक वर्ष २०८०/८१ मा सुरु गरिएको यो आयोजना पूर्ण रूपमा सम्पन्न भएपछि धापखर्क क्षेत्रका सबै घरपरिवारमा सुरक्षित, स्वच्छ र नियमित खानेपानी पहुँच सुनिश्चित हुने स्थानीयको भनाइ छ ।




















