
युवराज विष्ट
भोजपुर, २६ जेठ ।
भोजपुर नगरपालिका–५ बोखिममा रहेका सबै सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गरिएसँगै स्थानीय शिक्षा क्षेत्रमा परिवर्तन देखिन थालेको छ । दक्ष जनशक्ति उत्पादनसँगै गुणस्तरीय शिक्षा अभिवृद्धि गर्दै विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउने उद्देश्यका साथ यो पहल अघि बढाइएको हो।
वडाको नीतिगत निर्णय, विद्यालय व्यवस्थापन समितिको सक्रियता तथा शिक्षक–अभिभावकबीचको समन्वयात्मक सहकार्यमा अङ्ग्रेजी माध्यम लागू गरिएको हो। हाल बोखिमका बाल कक्षा देखि कक्षा ५ सम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन भइरहेको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिनुभयो।
उहाँका अनुसार सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास बढाउने र निजी विद्यालयतर्फको आकर्षण घटाउने लक्ष्यका साथ वडाभित्रका सबै छवटै विद्यालयमा अङ्ग्रेजी माध्यम कार्यान्वयन गरिएको हो। “वडाका सबै विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सञ्चालनको व्यवस्था मिलाएका छौँ,” वडाध्यक्ष प्रधानले भन्नुभयो,“सामुदायिक विद्यालयमै गुणस्तरीय शिक्षा प्रदान गर्ने हाम्रो मुख्य लक्ष्य हो।”
अङ्ग्रेजी माध्यम कार्यान्वयनसँगै शिक्षकहरूलाई आवश्यक तालिम,अभिमुखीकरण तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गरिएको छ। प्रारम्भिक चरणमा केही चुनौतीहरू देखिए पनि अहिले शिक्षकहरू क्रमशः दक्ष बन्दै गएको र पठनपाठन थप प्रभावकारी हुँदै गएको उहाँले बताउनुभयो ।
अङ्ग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन भएपछि क्रमशः सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढद्र पञ्चकन्या माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मण जोशीले बताउनुभयो ।अङ्ग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गरिएसँगै सामुदायिक र नीजि विद्यालय बीचको शिक्षणको गुणस्तरमा एक रुपता कायम भएको उहाँले बताउनुभयो । सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यम शुरु भएसँगै विद्यलाय अभिभावकले अङ्ग्रेजी माध्यमको लागि नीति विद्यालयमा विद्यार्थी लैजाने चलन क्रमिक रुपमा घट्दै गएको उहाँले जानकारी दिनुभयो ।
यससँगै वडाले आधुनिक शिक्षण विधिको प्रयोग, प्रविधिमैत्री कक्षा सञ्चालन तथा सिकाइ वातावरण सुधारमा विशेष ध्यान दिएको छ। अङ्ग्रेजी माध्यमलाई प्रभावकारी र दीगो बनाउन नियमित अनुगमन तथा मूल्याङ्कन प्रणालीलाईसमेत प्राथमिकतामा राखिएको वडाले जनाएको छ।
ग्रामीण क्षेत्रमा सामुदायिक विद्यालयमै अङ्ग्रेजी माध्यमको विस्तारले शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पु¥याएको स्थानीयको भनाइ छ ।




















