
भोजपुर, ४ जेठ । महालेखापरीक्षक कार्यालयको ६३औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/०८२ मा भोजपुरका नाै स्थानीय तहमध्ये रामप्रसादराई गाउँपालिकाको बेरुजु सबैभन्दा कम रहेको पाइएको छ।
प्रतिवेदनमा उल्लेख भएअनुसार गाउँपालिकाको बेरुजु रकम २१ लाख १६ हजार रुपैयाँ मात्रै रहेको छ। जिल्लाका अन्य स्थानीय तहको तुलनामा यो न्यून रकम हो। केही पालिकामा करोडौँ रुपैयाँसम्म बेरुजु देखिएको अवस्थामा रामप्रसादराई गाउँपालिकाले वित्तीय अनुशासन कायम गर्दै न्यून बेरुजु कायम गर्न सफल भएको गाउँपालिका अध्यक्ष थाम बहादुर राईले बताउनुभयाे।
“हामीले योजना छनोटदेखि कार्यान्वयन र भुक्तानी प्रक्रियासम्म स्पष्ट मापदण्ड अपनाएका छौँ। नियमित आन्तरिक अनुगमन, समयमै लेखा परीक्षण तथा कर्मचारीको जिम्मेवारी बोधले पनि बेरुजु नियन्त्रणमा ठूलो भूमिका खेलेको छ,” उहाँले बताउनुभयो।
त्यसैगरी, भोजपुर नगरपालिकाको २६ लाख ५१ हजार, आमचोक गाउँपालिकाको ३२ लाख ३१ हजार तथा हतुवागढी गाउँपालिकाको ३५ लाख ३० हजार रुपैयाँ बेरुजु रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
स्थानीय तहमा पारदर्शी खर्च प्रणाली, प्रभावकारी लेखा व्यवस्थापन तथा आर्थिक अनुशासन कायम हुँदा बेरुजु न्यूनीकरण गर्न सम्भव हुने देखिएको छ। तुलनात्मक रूपमा कम बेरुजु कायम गरेपछि रामप्रसादराई गाउँपालिकाको वित्तीय व्यवस्थापनलाई सकारात्मक रूपमा हेरिएको छ।



















