
युवराज विष्ट
भोजपुर, २७ बैशाख ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कमा अवस्थित शिंहदेवी माध्यमिक विद्यालयमा आधुनिक ई–लर्निङ सेन्टर स्थापना गरिएको छ । ग्रामीण क्षेत्रमा अध्ययनरत विद्यार्थीलाई समयसापेक्ष, गुणस्तरीय तथा प्रविधिमैत्री शिक्षण प्रणालीसँग जोड्ने उद्देश्यका साथ ईश्वर मन्दिर काठमाडौंको पहलमा उक्त सेन्टर स्थापना गरिएको हो ।
डिजिटल युगको आवश्यकता अनुसार शिक्षण प्रणालीलाई रुपान्तरण गर्ने लक्ष्यका साथ सञ्चालन गरिएको यस अभियान अन्तर्गत विद्यालयलाई २० थान डेस्कटप कम्प्युटर, एक थान स्मार्ट टिभी तथा आवश्यक सामग्री प्रदान गरिएको छ । यससँगै विद्यालयमा औपचारिक रूपमा ई–लर्निङ सेन्टर सञ्चालनमा आएको हो ।
ईश्वर मन्दिर काठमाडौं अभियानका महासचिव संकेत कोइरालाले ग्रामीण क्षेत्रका विद्यार्थीलाई आधुनिक प्रविधिसँग जोड्न यस्तो अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । “शिक्षामा प्रविधिको प्रयोगले सिकाइ प्रक्रियालाई अझ प्रभावकारी, सहज र रोचक बनाउँछ,” उहाँले भन्नुभयो, “हामीले भोजपुरका विभिन्न दुर्गम क्षेत्रका विद्यालयहरूमा यस्ता कार्यक्रम विस्तार गर्दै लैजाने लक्ष्य लिएका छौँ ।”

कार्यक्रमका प्रमुख अतिथि तथा पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले विज्ञान र प्रविधिको तीव्र विकाससँगै शिक्षण प्रणालीलाई पनि आधुनिक बनाउनु अत्यावश्यक भएको बताउनुभयो । उहाँले ‘विद्यार्थी साथमा, कम्प्युटर हातमा’ भन्ने नारासहित इश्वर मन्दिरले सञ्चालन गरिरहेको डिजिटल अभियानले ग्रामीण क्षेत्रका विद्यालयमा नयाँ सम्भावना सिर्जना गरेको उल्लेख गर्नुभयो ।
“आजको युग प्रविधिको युग हो,” उहाँले भन्नुभयो, “यदि हामीले शिक्षालाई प्रविधिसँग जोड्न सकेनौँ भने भविष्यमा प्रतिस्पर्धा गर्न कठिन हुन्छ । त्यसैले यस्ता अभियानहरू अत्यन्त आवश्यक छन् ।”

विद्यालयका प्रधानाध्यापक राजधन राईले ई–लर्निङ सेन्टर स्थापनाले विद्यालयको समग्र शैक्षिक वातावरणमा गुणात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार अब विद्यार्थीहरूले डिजिटल माध्यमबाट पाठ्यवस्तु बुझ्न, अनुसन्धान गर्न तथा व्यावहारिक ज्ञान हासिल गर्न थप सहज हुनेछ ।
“यो सेन्टरले विद्यार्थीको सिर्जनशीलता र सिकाइ क्षमतामा उल्लेखनीय सुधार ल्याउनेछ,” उहाँले भन्नुभयो, “अब हामी कक्षाकोठामा मात्रै सीमित नभई प्रविधिमार्फत विश्वसँग प्रतिस्पर्धा गर्ने वातावरण तयार गर्नेछौँ ।”
टेम्केमैयुङ गाउँपालिका अध्यक्ष शरोज बस्नेतले सामुदायिक विद्यालयमा यस्ता प्रविधिमैत्री पूर्वाधार विकास हुनु अत्यन्त सकारात्मक र प्रेरणादायी कदम भएको बताउनुभयो । उहाँले गाउँपालिकाले पनि शिक्षा क्षेत्रमा सुधार ल्याउन योजनाबद्ध रूपमा काम गरिरहेको उल्लेख गर्नुभयो ।
“शिक्षा समाज परिवर्तनको मूल आधार हो,” अध्यक्ष बस्नेतले भन्नुभयो, “हामीले विद्यालयको भौतिक पूर्वाधार विकाससँगै आधुनिक शिक्षण प्रणालीमा पनि लगानी बढाइरहेका छौँ । यस्ता सहकार्यले हाम्रो अभियानलाई थप बल पुगेको छ ।”

प्रमुख जिल्ला अधिकारी राजन पौडेलले प्रविधिमूलक शिक्षण आजको अपरिहार्य आवश्यकता भएको उल्लेख गर्दै ई–लर्निङ सेन्टरले सिकाइ प्रक्रियालाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले उपलब्ध गराइएका सामग्रीहरूको संरक्षण र दीगो उपयोगमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
ईश्वर मन्दिर काठमाडौंले वि.सं. २०५६ सालदेखि शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा विभिन्न सहयोग तथा प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले हालसम्म भोजपुर जिल्लाका एक दर्जनभन्दा बढी विद्यालयमा ई–लर्निङ सेन्टर स्थापना गरिसकेको जनाएको छ ।



















